स्थानीय तह निर्वाचन मा तीन गाउँपालिका अध्यक्षसहित ३९० जना उम्मेद्वार निर्विरोध निर्वाचित

छिनोफानो   आइतबार २५, बैशाख २०७९ ११:५२

स्थानीय तह निर्वाचन-२०७९ मा तीन गाउँपालिका अध्यक्षसहित ३९० जना उम्मेद्वार निर्विरोध निर्वाचित भइसकेका छन् ।

३५ हजार २२१ जनप्रतिनिधि छान्नका लागि वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ । तर गएको ११ र १२ मा परेको उम्मेदवारीका आधारमा निर्वाचन आयोगले तीन अध्यक्षसहित ३९० जना निर्विरोध निर्वाचित भएको विवरण सार्वजनिक गरेको छ ।

पालिका चुनावका लागि कुल एक लाख ४५ हजार १० जनाको उम्मेदवारी परेको थियो । आयोगका अनुसार एमालेका १३८, कांग्रेसका ११५, माओवादीका ५९, एकीकृत समाजवादीका ३५, नेमकिपाका २, राप्रपाका २, जसपाका १, लोसपाका १, राष्ट्रिय जनमुक्ति पार्टीका १, नेकपा माओवादी समाजवादीका १ र स्वतन्त्र ३५ जना निर्विरोध निर्वाचित भएका छन् ।

पालिका अध्यक्ष ३, उपाध्यक्ष ४, वडाध्यक्ष ४८, दलित महिला सदस्य १६४, महिला सदस्य ७१ र खुला सदस्य एक सय जना निर्विरोध भएका हुन् । आयोगका अनुसार डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका अङ्गदकुमार राना, छार्का ताङसोङ गाउँपालिका अध्यक्षमा समाजवादीकै सेनाङ गुरुङ र शे-फोक्सुन्डो गाउँपालिकामा एमालेका धावा सम्डुक गुरुङ निर्वाचित भएका छन् ।

त्यस्तै मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा एमालेका मेङमर फुन्चो लामा, डोल्पाको काइके गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका निमा बुढा, छार्का ताङसोङको उपाध्यक्षमा कर्म ढुन्डप गुरुङ र डोल्पोबुद्धको उपाध्यक्षमा समाजवादीका पेम्मा धोर्चे गुरुङ निर्वाचित भएका छन् । प्रदेश-१ मा ४३, मधेसमा ९, वाग्मतीमा ४६, गण्डकीमा ११२, लुम्बिनीमा ८, कर्णालीमा १५७ र सुदूरपश्चिममा १५ जना निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु