दलित महिला सदस्यको तयारी गरेकी गोतामे बनिन् उपमेयर

छिनोफानो   शनिबार ०७, जेठ २०७९ ०५:१५

भानु नगरपालिका वडा नं ६ की उमा गोतामले दलित महिला सदस्यमा दोहोरिन चाहेकी थिइन् । २०७४ को चुनावमा ६१५ मत प्राप्त गरेकी नेपाली कांग्रेसकी उनले त्यसै अनुसार पार्टीमा दाबी पनि गरेकी थिइन् ।तर मनोनयन दर्ता गर्ने दिन उनलाई उपमेयरमा उठ्न भनियो ।कांग्रेसका नगरका नेताहरुले अन्य दलसँग तालमेलका लागि छलफल गरिरहेका थिए, भागबण्डा मिलेको थिएन । नेकपा एकीकृत समाजवादी र माओवादीसँग थप छलफल गरेर तालमेल गर्ने, मेयर आफूले लिने र उपमेयरको उम्मेदवारी फिर्ता लिने तयारी अनुसार उनलाई उठाइएको थियो ।नेपाली कांग्रेसबाट उपमेयरमा दाबी गर्दै आएका  जिल्ला र नगरस्तरकै नेतृहरुले उम्मेदवारी फिर्ता गर्ने गरी उपमेयरमा मनोनयन दर्ता गर्न नचाहेपछि गोतामेले उम्मेदवार बन्ने मौका पाएकी थिइन् ।माओवादीले पनि कांग्रेससँग बार्गेनिङ गर्नकै लागि सिताराम अधिकारीलाई मेयरमा र ओमकुमारी पौडेललाई उपमेयरमा मनोनयन दर्ता गर्न लगाएको थियो ।एकीकृत समाजवादीले पनि उपमेयर पाउने आशामा श्रीराम पौडेलको मनोनयन दर्ता गरेको थियो ।तर मनोनयन दर्तापछि पनि दलहरुबीच भागबण्डा मिलेन, कांग्रेसले एक्लै चुनावमा जाने निर्णय गर्‍यो र गोतामले उम्मेदवारी फिर्ता लिनु परेन । माओवादी र एकीकृत समाजवादीकाले पनि फिर्ता लिएनन् ।एक्लै चुनावमा गएपछि नतिजा आउँदा कांग्रेसले मेयर उपमेयर दुवै जित्यो । फिर्ता गर्ने गरी उपमेयरमा उम्मेदवारी दिएकी गोतामेले झण्डै दोब्बरी बढी मतले चुनाव जितिन् ।उनले १० हजार ५४७ मत ल्याइन् । एमालेको सहयोगमा उपमेयरको उम्मेदवार बनेका गोविन्दराज जोशी समूहका केशरबहादुर गुरुङले ५ हजार ८१७ मत मात्र ल्याए ।नेकपा माओवादी केन्द्रकी ओमकुमारी पौडेलले १ हजार २३८ र नेकपा एकीकृत समाजवादीका श्रीराम पौडेलले ९ सय ३१ मत पाए । दलित महिला सदस्यमा दोहोरिन खोजेकी गोतामे उपमेयर निर्वाचित भएपछि खुसी छिन् । उनले अब आफूले दलित तथा पिछडिएको वर्गको हितमा काम गर्ने बताइन् ।नेपाली कांग्रेसका भानुनगर समिति सभापति रामकुमार श्रेष्ठले भागबण्डा नमिलेका कारण तालमेल नभएको र एक्लै चुनावमा जानु परेको बताए । ‘हामी उपमेयरको उम्मेदवारी फिर्ता गर्न तयार थियौं, तर उहाँहरुले त्यो भन्दा बढी  भाग खोज्नुभयो’, उनले भने, ‘त्यसैले हामी एक्लै चुनावमा गयौंँ र सफलता पनि पायौंँ । नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव श्रीराम पौडेलले पनि आफूहरुले उपमेयर पाउने आशामा मनोनयन दर्ता गरेको तर कांग्रेसले पछि तालमेल नै गर्न नचाहेको बताए ।(अनलाईनखबर)

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु