धनगढीमा नक्कली नोट सहित दुईजना पक्राउ

छिनोफानो   बिहिबार ०२, असार २०७९ ०२:३५

धनगढी । कैलालीमा नक्कली नोट र रंगिन प्रिन्टर सहित दुईजना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका ८ बस्ने २१ वर्षिय रामदास रानाले सञ्चालन गर्दै आएको बि युनिक फोटो स्टुडियोमा छापा मार्दा नक्कली नोट सहित नक्कली नोट बनाउन प्रयोग हुने समाग्री नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

कसरी खुल्यो नक्कली नोटको रहस्य ? 
बुधबार साँझ धनगढी उप–महानगरपालिका वडा नम्बर ३ मायामेट्रो अस्पताल अगाडी दुर्घटना भयो । १८ वर्षिय अनुराग रानाले चलाएको लु ८५ प ५१८४ नम्बरको मोटरसाइकलले धनगढी ५ हसनपुर बस्ने १६ वर्षका टेक बहादुर छेडाललाई ठक्कर दियो । दुर्घटनामा घाइते भएका दुैजनालाई धनगढीको माया मेट्रो अस्पतालमा उपचारपछी डिस्चार्ज गरियो । डिस्चार्जपछी मोटरसाइकल चालक रानाले उपचार गरेको पैसा अस्पतालको काउन्टरमा बुझाए । तर उनले बुझाएको रकममा एउटा नेपाली १ हजारको नोट नक्कली थियो । 

नक्कली नोट भएको पुष्टी हुनेबित्तिकै वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले रानालाई नियन्त्रणमा लियो । नियन्त्रणपछि सोधपुछ गर्दा थाहा भयो कि उक्त नक्कली नोट उनकै मामा नाता पर्ने २१ वर्षिय रामदास रानाले छापेका रहेछन् । सो खबर प्राप्त गरे लगत्तै प्रहरीले धनगढी ८ धनगढी गाउँ बस्ने रामदास रानाले सञ्चालन गर्दै आएको बि युनिक फोटो स्टुडियोमा छापा मार्यो । छापा मार्दा प्रहरीले उक्त स्टुडियोबाट नक्कली नोट सहित नोट बनाउन प्रयोग हुने विभिन्न सामाग्रीहरु नियन्त्रणमा लिएको छ । 

के के थिए त नक्कली नोट बनाउन प्रयोग हुने सामाग्री ? 
सवारी दुर्घटनाबाट खुलेको नक्कली नोटको रहस्यले प्रहरीलाई दुर्घटनाको अनुसन्धानदेखी नक्कली नोटको अवैध धन्दाको अनुसन्धानसम्म पुर्यायो । प्रहरीले रानाले स्टुडियोबाट रंगिन मसिका ५ थान डिब्बा, १ थान रंगिन प्रिन्टर, १ थान मनिटर, सिपियु १ थान, लेमिनेसन मेसिन १ थान, किबोर्ड १ थान, १ थान कैंची, ब्लेड २ थान, नक्कली १ हजारका १ थान र बिग्रेका नक्कली २ थान रु १ सयका नोट बरामद गरेको छ । बरामदसँगै उक्त अपराधका विषयमा थप अनुसन्धान चलिरहेको छ । 

यता रानाले छापेका नक्कली नोट बजारसम्म नपुगेको बताउँदै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले पक्राउ परेका रानामाथी अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु