जिब्रोमा ‘क्यान्सर’ भएपछि उपचारका लागि आर्थिक अभाव

छिनोफानो   आइतबार २६, असार २०७९ ११:२६

कञ्चनपुरको बेदकोट नगरपालिका-६ ओझाखालीका २९ वर्षीय अजय डगौराको जिब्रोमा ‘क्यान्सर’ भएपछि उपचारका लागि आर्थिक अभाव भएको छ । ससुरालीमा बस्दै आएका उनले उपचार खर्च जुटाउन नसक्दा कष्ट सहेर बस्नुपरेको छ ।
जग्गा, घर केही छैन । मजदुरी गरेर जीविका चलाउँदै आएको छु’, उनले भने, ‘जिब्रो दुख्न थालेपछि एक वर्षअघि चिकित्सकलाई देखाउँदा क्यान्सर भएकाले उपचारका लागि चितवनस्थित अस्पतालमा जानका लागि भने पनि अर्थाभावले पीडा सहेर बस्दै आएको छु ।’

उपचार खर्चका लागि जोहो गरिदिने कोही नहुँदा बिरामी डगौरा मर्नु र बाँच्नुको दोसाँधमा पुगेका छन् । ‘पहिला जिब्रो दुख्ने मात्रै गर्दथ्यो’, उनले भने, ‘अहिले खाना मुखभित्र राख्नै गाह्रो हुन थालेको छ । पूरै मुख दुख्छ खाना खान पनि सक्ने अवस्था छैन ।’

विस्तारै बोले पनि मुख दुख्ने भएकाले बोल्न समेत सक्दिनँ । आफ्नो कोही छैन । उपचार नपाएरै मर्नुपर्ने अवस्था आएको छ ।’ उपचारका लागि सहयोग गरिदिनका लागि उनले आग्रह गरेका छन् । भारतमा छँदा गुटखाको अम्मली भएको हुँदा त्यो छाड्न नसक्दा त्यसकै कारण जिब्रोमा क्यान्सर भएको उनी बताउँछन् ।

‘भारतमा रोजगारीका लागि आमा बुवासँगै जाँदा आमा बुवाले अलपत्र छाडेर कहाँ गए पत्तो नै लागेन । केही वर्ष भारतको मुम्बईमा छ वर्षको उमेरदेखि होटलमा भाँडा माझ्ने काम गरें । त्यही होटलमा काम गर्ने नेपालीसँग चिनजान गरी उनीहरुसँगै नेपाल फर्किए । त्यतिबेला मेरो उमेर १९ वर्ष जतिको थियो’, उनले भने, ‘सानैमा भारत गएकाले यहाँ फर्केपछि परिवार भेट्टाउन सकिनँ । थातथलो कहाँ थियो, ठम्याउन सकिनँ ।’

‘यहाँ फर्केपछि मजदुरी गरेर जीविका चलाउँदै आएकाले परिवार पाल्न सक्ने आँट भएको ठिटो भनेर धेरैले तारिफ गर्थे । विवाह गरें, केही वर्षमै दुई छोरी एक छोराको बुवा पनि बने । जिब्रोमा क्यान्सर भएको कुरा श्रीमतीलाई सुनाए’, बिरामी डगौराले निकै भावुक हुँदै भने, ‘घरको एक्लो कमाउने व्यक्तिलाई नै क्यान्सर भएपछि हाम्रो पालनपोषण कसले गर्ला भनेर सोचिन् वा अरु केही । श्रीमतीले एक वर्षको छोरासहित आत्महत्या गरिन् । माइली छोरीलाई पनि झुण्ड्याएकी थिइन् । खुट्टा भुइँमा छोइदा जोगिइन् यो गत चैत महिनाको १७ गतेको घटना हो ।’

आमा बुवाले पहिला नै छाडिसकेका थिए । एक्लो सहाराका रूपमा रहेकी श्रीमतीले पनि यो संसार छाडेर गएपछि तनावपूणर् जीन्दगी जिउनुपरेको उनी बताउँछन् । डगौराका दुई छोरी मावलीमा छन् । ससुरालीको समेत अर्थावस्था निकै दयनीय भएकाले उपचार खर्च माग्न सक्ने अवस्था नरहेको उनले दुःखेसो पोखे ।

‘मजदुरी गर्न सक्ने अवस्था छैन । एक्लैका लागि खाना खर्च जुटाउन सकिने अवस्था छैन । उपचार गराउने कुरा अब कल्पना पनि गर्न सक्दिनँ’, उनले भने, ‘दुःख गरेपछि सुख देख्न सकिन्छ भन्थे तर मेरो जीवनमा दुःखै दुःख रहेछ । उपचार नपाएर मर्नु बाहेक अब मेरा लागि अर्को विकल्प छैन ।’ रासस

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु