प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली बिच भेटवार्ता

छिनोफानो   बुधबार ०८, भदौ २०७९ ०३:१०

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालेमंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आज (बुधबार) प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले चुनावको वातावरणलाई लिएर शंका नगर्न र त्यसबारे भ्रम सिर्जना नगर्न आग्रह गर्दै निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् । एमाले अध्यक्ष ओलीले निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुनु पर्नेमा सरकारको ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रधानमन्त्री देउवाले चुनावको वातावरणलाई लिएर शंका नगर्न र त्यसबारे भ्रम सिर्जना नगर्न आग्रह गरेका थिए ।

भेटमा एमाले अध्यक्ष ओलीले सरकारले संसद्मा अघि बढाएको नागरिकता विधेयक, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा समेत धारणा राखेका थिए । त्यस्तै, बजारमा बढ्दो महँगी नियन्त्रणमा समेत सरकारले भूमिका खेल्न नसकेको भन्दै ध्यानाकर्षण गराएका थिए ।
प्रधानमन्त्री देउवाले ती विषय सत्ता गठबन्धनमा समेत राख्ने भन्दै सरकारले गम्भीर रुपमा लिएर अघि बढ्ने बताएका थिए । देउवा(ओलीबीच करिब दुई घण्टा छलफल भएको छ ।

भेटमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेल तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत सहभागी थिए । सरकारले चुनावको मिति घोषणा गर्नेबेला परामर्श नलिएको गुनासो गर्दै आएको एमालेसँग प्रधानमन्त्री देउवाले मिति नजिकिँदै जाँदा त्यसबारे छलफल गरेका हुन् ।

सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटको निष्कर्ष ननिस्किएका बेला देउवा(ओलीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गठबन्धनको सिट बाँडफाँटसम्बन्धी बैठक बुधबारै साँझ ५ बजे पुनः बस्दैछ । देउवाको निमन्त्रणामा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका थिए । करिब ६ महिनापछि देउवा(ओली भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक विषयहरूमा छलफल भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु