भारतको वनगाउँ बजारमा नेपाली ग्राहकको भीड

रासस   मङ्गलबार ११, असोज २०७९ ०१:२६

धनगढी- बडादसैँ सुरु भएसँगै सीमावर्ती भारतको वनगाउँ बजारमा मालसामान किनमेलका लागि नेपाली उपभोक्ताको भीड लाग्न थालेको छ । धनगढी अत्तरिया लगायतका बजार क्षेत्रमा खाने तेल, मरमसला, चिनी, दालका साथै लत्ता कपडाको मूल्यभन्दा सुपथ मूल्यमा सामान पाइने विश्वासमा वनगाउँ बजार पुगेर समान खरिद गर्नुपरेको उपभोक्ताले बताएका छन् ।
धनगढीमा खानेतेल, चिनीलगायत उपभोग्य सामानको मूल्य चर्को हुने गरेपछि आफू उपभोग्य सामान किनमेलका लागि गौरीफन्टा पुगेको कैलाली भन्सारमा भेटिनुभएकी धनगढीकी सावित्रा अवस्थीले बताईन् ।

वनगाउँ बजार जाने ग्राहकमध्ये ९० प्रतिशत ग्राहक नेपाली नै हुने गरेको स्थानीय व्यापारीको भनाइ छ । सामान किनमेल गरेर फर्किने नेपालीलाई भारतीय भन्सारका कर्मचारीले सीमामा झोला खानतलासी गरी बेलाबखत दुःख दिने गरेको गुनासो उपभोक्ताले बताउने गरेका छन् ।

चाडबाडका समयमा भने झोला खानतलासीको व्यवहार त्यति नहुने गरेको अनुभव सामान किनमेल गरेर फर्किंदै गरेका कैलालीका सन्तोष भट्टले सुनाईन् । वनगाउँमा हिजो आज दैनिक पाँच सयभन्दा बढी नेपाली किनमेलका लागि जाने गरेको बताइएको छ ।

धनगढी देखि झण्डै चार किलोमिटरको दूरीमा रहेको गौरीफन्टा बजार दशकौँदेखि वन क्षेत्रमा रहेको थियो । भारतको वन विभागले वन क्षेत्रको जग्गा खाली गराउन सूचना गरेपछि विस्तार भएको गौरीफन्टा बजार झण्डै एक दशकअघि हटेको थियो । बजार हटेपछि नजिकैको वनगाउँमा बजार व्यवस्थापन गरेर व्यापारीले व्यापारिक कारोबार सुरु गरेका हुन् ।

वनगाउँमा नेपाली ग्राहकको भीड लाग्न थालेपछि धनगढी, अत्तरिया लगायतका नेपाली बजारको कारोबार बढ्न नसेकेको नेपाली व्यापारीले बताएका छन् । भारतीय बजार भएर पनि वनगाउँमा नेपाली रुपैयाँमा कारोेबार हुने गरेकाले नेपाली ग्राहकलाई भारु सटही गर्नुपर्ने अवस्था हुँदैन । कोरोनाको समस्यापछि धनगढी अत्तरिया लगायत नेपाली बजारको कारोबार बढ्न नसकेको धनगढीका व्यापारी मनोजले बताए । उनले भने ‘कोरोनाको समयदेखि व्यापार बट्टामा मन्दी नै छ, कारोबार बढ्न नसक्दा घरभाडा बुझाउन मुस्किल भइरहेको छ ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु