कैलालीको भजनीमा स्नेह केन्द्र स्थापना

रासस   बुधबार १२, असोज २०७९ ०२:०६

टीकापुर –  कैलालीको भजनीमा बाढी प्रभावित गर्भवती, सुत्केरी, किशोरी, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने लैङ्गिक हिंसा जोखिम न्यूनीकरणका लागि स्नेह केन्द्र स्थापना भएको छ । केन्द्रमा असोज १ गते आएको बाढीले विस्थापित भएका गर्भवती तथा सुत्केरी महिला र बालबालिका गरी ९३ जना बसिरहेका छन् । यहाँ ४४ आमा, ४४ बच्चा र पाँच गर्भवती महिला आश्रय लिइरहेका छन् ।

ओरेक नेपाल र भजनी नगरपालिका मिलेर सञ्चालन गरेको स्नेह केन्द्रमा उनीहरुको खानपान, रहनसहन, सरसफाइ लगायत आवश्यक सबै व्यवस्था मिलाइएको छ । यसका साथै विपद्का समयमा हुनसक्ने मनोसमस्यालाई ध्यानमा राखेर उपचारका साथै मनोसामाजिक परामर्शसमेत दिने गरिएको ओरेक नेपाल कैलालीका अभिलाषा भण्डारीले जानकारी दिइन् ।

‘विपद्का समयमा महिला तथा बालबालिका बढी जोखिममा हुन्छन्, त्यसैले हामीले नगरपालिकाको वडा नं १ मा रहेको सेल्टरलाई प्रयोगमा ल्यायौँ’ उनले भनीन् ‘बाढीपछि घरमा बस्ने वातावरण नभएका महिला बालबालिकासहित यहाँ बस्नुभएको छ । जहिलेसम्म घर फर्कने वातावरण बन्दैन, तबसम्म बस्नुहुन्छ । उहाँहरूको खाने–बस्ने सबै व्यवस्था गरिएको छ ।’

स्नेह केन्द्रमा आवश्यक सामानको जोहोका लागि अन्य सङ्घसंस्थाले समेत सहयोग गरिरहेको उनको भनाइ छ ।

समस्यामा परेकाहरुलाई सहज

भजनी नगरपालिकाका पुष्पा राजी नौ महिनाकी गर्भवती छिन । बाढीले घर डुबानमा परेपछि उनी ज्यान जोगाउन घर छाडेर उच्च स्थानमा भागित । सुत्केरी हुने समय नजिकिँदै गरेकी पुष्पालाई सडकमा बस्न निकै गाह्रो भएको थियो । स्थानीयवासीको सहयोगमा स्नेह केन्द्रमा आएपछि भने उहाँलाई ढुक्क छ । ‘सुत्केरी मिति नजिकिँदै गएकाले मलाई तनाव थियो, कतै सडकमै व्यथा लागे के गरौँला भन्ने डर थियो’ उनले भनीन ‘पछि यहाँ ल्याइयो, यहाँ त ढुक्क छ । ब्यथा लागिहाले पनि स्वास्थ्य सेवासमेत पाइने रहेछ । यहाँ खान, बस्न, उपचार गर्न कुनै समस्या छैन ।’

सुनिता राजी पनि बाढी आएपछि बच्चासहित विस्थापित भएकी थिइन । ‘बाढीको त्रासमा ज्यान बचाउन बच्चासहित घर छाडेका महिलालाई यसरी सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउनु सराहनीय काम हो’ उनले भनीन ‘बाढीले भिजेका घरका भित्ता ढल्न थालेपछि एक वर्षको बच्चा बोकेर यहाँ आएकी हुँ, अब घर बनेपछि फर्कन्छु ।’

भजनी नगरपालिका–३ का राजरानी चौधरी बाढी आएपछि डेढ वर्षको बच्चा बोकेर हुलाकी सडकमा आश्रय लिन गइन् । बाढीले घर डुबानमा परेर केही सामान नबचेपछि राजरानीलाई निकै तानव भयो । तीन दिनसम्म हुलाकी सडकमा बसेपछि वडाध्यक्षको सहयोगमा उनी पनि स्नेह केन्द्रमा बच्चासहित पुगिन ।

‘निकै तनाव थियो, स्नेह केन्द्रमा आएपछि ढुक्क भयो, बच्चाले राम्ररी खान पाएको थिएन, यहाँ आएपछि बच्चा र मैले पेटभरि खान पायौँ’, उनले भनीन् ‘यहाँको वातावरण रमाइलो छ । सबै हामीजस्तै समस्या झेलेकाहरु छौँ । एकअर्कामा कुराकानी गर्दा तनाव कम हुने रहेछ ।’

वडा नं ३ कै कोपिला चौधरी पनि डेढ वर्षको बच्चासहित स्नेह केन्द्रमा बसेकी छिन । तीन दिन विद्यालयमा बसेपछि यहाँ आएकी कोपिलालाई पनि स्नेह केन्द्रमा दिइने मनोसामाजिक परामर्शपछि धेरै आनन्द महसुस भएको छ । ‘यहाँ तनाव व्यवस्थापन कसरी गर्ने, हिंसा भएमा के गर्ने भनेर पनि सिकाइन्छ’ उनले भनीन् ‘अब केही दिनमा घर फर्कन्छौँ, परिवारका सदस्यले घर मर्मत गर्दै हुुनुहुन्छ । घर तयार भएपछि फर्कने हो ।’

भजनी–८ की लक्ष्मी रावल पनि एक वर्षको बच्चासहित स्नेह केन्द्रमा बसेकी छिन । उनको पनि घरमा बस्ने वातावरण बनेको छैन । ‘सडकमा भोकभोकै बस्नुपरेको थियो’, यहाँ बच्चाले पटक–पटक पेटभरि खान पाएको छ ।’ स्नेह केन्द्रमा महिलालाई विपद्पछि हुनसक्ने हिंसा, हिंसा भएमा के गर्ने, एकअर्कालाई कसरी सघाउने, तनाव व्यवस्थापन गर्ने तरिकासमेत सिकाउने गरिएको छ । विपद्का समयमा महिला तथा बालबालिकाको सुरक्षाका लागि गरिएको यो काम सराहनीय रहेको स्थानीय कृष्णा चौधरीले बताईन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु