सुदूरपश्चिमको प्रसिद्ध बैद्यनाथ धाममा नौरथा पूजा महोत्सव संचालन

छिनोफानो   शुक्रबार १४, असोज २०७९ १२:४१

अछाम – नेपालका चार धाममध्येको एक बैद्यनाथ धाममा नौरथा पूजा महोत्सव सञ्चालन भएको छ । सुदूरपश्चिमको प्रसिद्ध बैद्यनाथ मन्दिरमा घटस्थापनाको दिनदेखि सुरु भएको पूजा महोत्सव विजया दशमीको दिनसम्म हुनेछ ।

यहाँको मौलिक तथा लोक पञ्चेबाजासहित कलशयात्रा गरी नवदुर्गा माताको मूर्ति स्थापना गरिएको हो । पूजा महोत्सवमा दिनभर प्रवचनसहित हवन, भजन कृतनका कार्यक्रमहरु गरिएका छन् । प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म पूजापाठ, दर्शन, हवन, भजनकृतन, प्रवचन र प्रसाद वितरण गरिने कार्यक्रम रहेको छ ।

महेन्द्र कुँवर फाउण्डेशन अछामको आयोजनामा बैद्यनाथ धाममा नौरथा पूजा महोत्सवको गरिएको फाउण्डेशनका महासचिव तथा बरिष्ठ देउडा गायक तथा प्राज्ञ यज्ञराज उपाध्यायले जानकारी दिए । पूजा महोत्सवको विशेष उद्देश्य अहिलेका युवाहरुले हाम्रो परम्परागत कला संस्कृतिलाई बिर्सदै गएकाले यसप्रति जानकार बनाउन र पवित्रस्थल बैद्यनाथ मन्दिरको प्रचारप्रसारका लागि पनि नौरथा पूजाको आयोजना गरिएको उनले बताए ।

उनले भने,‘अछाम कला, संस्कृतिको धनी जिल्ला हो, हाम्रो मौलिक लोक, कला, संस्कृति हराउँदै गएका छन्,बाजाहरु हराउँदै गएका छन्, बाजाहरु कसरी बजाउने भन्ने ज्ञान पनि देख्नै मुस्किल छ, हाम्रा धर्म, मुल्य, मान्यता, कला संस्कृति र परम्परालाई सबै मिलेर जोगाउन जरुरी छ ।’

अछाममा घटस्थापनादेखि बिजयादशमीसम्म नौरथा नौ दिनसम्म गाउँघरमा बाजा बजाउने चलन थियो । तर पछिल्लो समय यो चलन हराउँदै गएको भन्दै उनले दुःख व्यक्त गरे। पूजा महोत्सव अवधिभर युवा पुस्ताहरुलाई परिचालन गरिएको प्राज्ञ उपाध्यायले बताए ।

पूजा महोत्सबमा विजया दशमीको दिन बिहान ७ बजे पूजा अनुष्ठान गरी दिउँसो १ बजे पञ्चेबाजा र साँस्कृतिक झाँकीसहित सोभा यात्रा गरी नवदुर्गा माताको मूर्ति बुढीगंगा नदीमा विसर्जन गरिने आयोजक समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु