कञ्चनपुरको सनवोरा नदी छेउका घर उच्च जोखिममा

रासस   शुक्रबार १४, असोज २०७९ ०३:०९

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका – १० झलारी बजारमा रहेका घरहरु सनवोरा नदीको उच्च जोखिममा परेका छन् । नदी गहिरो भएर बग्न थालेपछि बजार क्षेत्रका ४० भन्दा बढी घरहरु जोखिमा परेका हुन् । घरहरु धस्न थालेपछि स्थानीय बासिन्दा निकै चिन्तित अवस्थमा रहेका छन् ।

तीन दशकदेखि झलारी बजारमा बस्दै आएका सुरेन्द्र पाल्पालीले रु ३० लाख खर्च गरी निर्माण गरिएको घर धस्न थालेपछि निकै तनावमा रहेको बताए । ‘घर निर्माण गरेको धेरै वर्ष भयो’ उनले भने ‘यसअघि केही भएको थिएन, असोज पहिलो साता आएको नदीको बाढीले गहिरो गल्छी बनाएर बग्न थालेपछि घर धसेको छ, बस्नका लागि जोखिम छ, सामान्य पानी परे पनि घर ढल्ने अवस्थमा पुगेको छ ।’

सम्पत्तिका रुपमा एक मात्रै घर रहेको उल्लेख गर्दै उनले घर नै ढलेपछि परिवार कहाँ लगेर राख्ने भन्ने पीरलो रहेको बताए । पाल्पाली झलारी बजारमा रहेको घरमा सिलाइ पसल सञ्चालन गर्दै आएका छन । यस व्यवसायबाटै उनको परिवारको गुजारा चल्दै आएको छ । ‘नदी नियन्त्रणका लागि एक दशकअघि देखि विभिन्न सरकारी र गैरसरकारी निकाय गुहार्दै आएका हौँ’, प्रेम सिंह कठायतले भने, ‘कुनै पनि निकायबाट बजार क्षेत्र जोगाउनका लागि प्रयास हुन सकेको छैन ।’

उनले अनुसार बजार क्षेत्रमा एकदेखि तीनतले सम्मका घरहरु नदी छेउमै बनेका छन् । नदी छेउमा बनेका सबै घरहरु जोखिममा रहेका छन् । पूर्व पश्चिम राजमार्गको नदीको पुलदेखि उत्तरतर्फका पाँच सय मिटरको दायरामा रहेका घरहरुमध्ये केही घरहरु धसेको र जमिन फाटेर चिरा परेको छ । सामान्य पानी परे पनि चिरा परेको ठाउँमा पहिरो गई घरहरु भत्कने खतरा रहेको छ । ‘घरहरु जोगाउनका लागि बलियो तटबन्धको आवश्यकता छ’, टेकबहादुर साहुले भने, ‘पुराना निर्माण गरिएका तटबन्ध नदीले बगाइसक्यो, नदी गहिरो भएर बग्दा बजारतर्फ कटान गर्न थालेको छ, नयाँ तटबन्ध निर्माण नभए झलारीको आधा बजारका घरहरु भत्किन्छन् ।’

सामान्य तटबन्धले नदी नियन्त्रण गर्न नसकिने भएकाले दीर्घकालीन योजना बनाई नदी नियन्त्रणका लागि प्रयास गरिनुपर्ने उनले बताए । नदीको पुरानो बहाव क्षेत्र थोरै मात्र गहिरो रहेको थियो । हाल नदी दुई फिट गहिरो भएर बग्न थालेको छ ।

नगरप्रमुख रणबहादुर महराले नदी नियन्त्रणका लागि सम्बन्धित निकायमा पत्राचार गरिसकेको बताए । ‘बजार क्षेत्रमा रहेका घरहरु धस्न थालेको खबर पाएपछि त्यस क्षेत्रको अनुगमन गरेका छौँ’ उनले भने ‘घर धसेका र जमिनमा चिरा परेको छ, बजार क्षेत्र जोगाउनका लागि प्रयासरत छौँ ।’

नगरपालिकाका इन्जिनियर दीपक धामीले नदी किनाराबाट २० मिटर टाढा घरहरु निर्माण गर्नुपर्ने नियम रहे पनि झलारी बजार क्षेत्रका घरहरु नियम विपरीत निर्माण गरिएको अवस्थामा रहेको बताए । ‘नदीको किनारामै घरहरु निर्माण गरिएपछि धस्नु स्वाभाविक नै हो’ उनले भने ‘माटो भरान गरेर बनाइएका घरहरु धस्नबाट बचाउन तटबन्ध निर्माण गरेर सकिँदैन ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु