पार्टीको निर्णयप्रति असहमति होइन: मुख्यमन्त्री भट्ट

छिनोफानो   शनिबार ०५, कार्तिक २०७९ ०३:३१

पाँच वर्षको पूरै कार्यकाल सरकार चलाएर एउटा इतिहास रचेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट यसपालि संघ र प्रदेशको चुनावमा उम्मेदवार बन्नबाट भने वञ्चित भए । सामान्यतया सरकारको पाँच वर्षको उपलब्धीको जनपरिक्षण गर्न पनि मुख्यमन्त्रीलाई चुनावी प्रतिस्पर्धामा उतार्ने र सरकारले गरेका राम्रा कामलाई जनतामाझ लगेर उनको पार्टी नेकपा माओवादी केन्द्र चुनावमा जानुपर्ने हो । तर, न वहालवाला मुख्यमन्त्रीले टीकट पाए, न आफ्नो पार्टी नेतृत्वको प्रदेश सरकारले गरेका राम्रा कामलाई माओवादीले चुनावमा चुनावी मुद्दा बनाउन सकेको छ । प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लाग्ने गरे पनि पाँच वर्षसम्म सरकारको नेतृत्व गर्दा खासै विवादमा नमुछिएका मुख्यमन्त्री भट्ट उम्मेदवारबाट बञ्चित हुनुपर्ने अवस्था कसरी सिर्जना भयो ? योसहित टीकट वितरणप्रति मुख्यमन्त्रीको असन्तुष्टि र प्रदेश सरकारका उपलब्धीका विषयमा उहाँ सँग गरिएको  कुराकानी :

पाँच वर्ष सरकार चलाएको इतिहास बनाउनु भयो तर यतिबेला तपाइँलाई नै तपाइँको पार्टीले चुनावमा पठाएन, किन ?
    हामीले पाँच वर्ष सरकार चलाउने कुरामात्र होइन, अबको पाँच वर्षमा सुदूरपश्चिमको विकास कसरी गर्ने भन्ने कुराको खाकासमेत बनाएका छौँ । पञ्चवर्षीय योजना पास भइसकेको छ । गएको पाँच वर्ष र अबको पाँच वर्षमा सुदूरपश्चिमलाई यो ठाउँमा हामी पु¥याउन सक्छौँ भन्ने सरकारको भिजन छ । त्यसमा मैले पनि नेतृत्व गरेँ । यसलाई स्थापित गर्न सफल भएका छौँ । आफ्नै सरकारको यो सफलतामा टेकेर पार्टी अगाडि बढ्नुपर्ने हो । पार्टीले त्यो गर्नु पनि पथ्र्यो । किनभने लोकतन्त्रमा पार्टीहरु आफ्नो घोषणापत्र, नीति, कार्यक्रम लिएर जनताबीच जान्छन् र जनताको म्याण्डेट ल्याइसकेपछि त्यो म्याण्डेटअनुसार सरकार बसेर काम गर्छन् । आफ्ना प्रतिवद्धताअनुसार सरकारले काम गरे÷नगरेको जनताले मूल्यांकन गर्ने समय अर्को चुनावनै हुन्छ । तर यो मूल्यांकन गर्ने अवस्थामा त्यो प्रकारको वातावरण, त्यो प्रकारको मौका र परिस्थित पार्टीले बनाउनु पर्ने थियो । त्यतापट्टि धेरै छलफल हुनुपर्ने, विश्लेषण हुनुपर्ने, कामको मूल्यांकन हुनुपर्ने हो । हामीले के कुरा सही ग¥यौँ, के गर्न सकेनौँ र आगामी दिनमा के गर्नुपर्छ भन्ने विषयमा सरकारको नेतृत्व गरेका नाताले मसँग बढी छलफल हुनुपर्ने थियो । त्यो हुन नसकेका कारणले पछिल्लो चरणमा केही समस्याहरु सिर्जना भएका छन् । यद्यपि टीकटको विषय पार्टी नेतृत्वले भन्ने कुरा हो ।

तपाइको दावी के मा थियो ?
    मैले अहिलेसम्म गरेका काम र त्यसलाई लिएर चुनाव जित्ने एउटा पाटो हो । पार्टीले यसको सदुपयोग गर्नुपर्छ भन्ने मलाइ लाग्छ । अर्को मैले चुनाव लड्ने दोस्रो पाटो हो । पार्टीको सल्लाहमा डोटी जिल्लाबाट संघमा जानुपर्छ भन्ने मेरो पहिलो प्राथमिकता थियो । यसका दुई कारण थिए–पहिलो, मैले पाँच वर्षसम्म प्रदेशमा काम गर्दै जाँदा के अनुभव भयो भने संघीयतालाई स्थापित गर्न अझै बढी काम हुनुपथ्र्यो । संघीय सदनबाट बन्नुपर्ने साझा कानुन, प्रहरी, कर्मचारी समायोजनका विषयमा हामीले जे भोग्यौँ ती विषयहरु राष्ट्रिय चर्चाको विषय बनाउनका लागि पनि त्यहाँ आवाज उठाउनु पर्छ भनेर संघमा जाने मेरो सोँच थियो । दोस्रो कुरा, २०६४ सालदेखि लगातार चुनाव लड्दै आए पनि संघमा जाने मौका नपाएको कारणले पनि मैले त्यहाँ जाने इच्छा व्यक्त गरेको थिएँ । तर गठबन्धनको कारण त्यो परिस्थिति बनेन । डोटीको संघीय सिट हाम्रो भागमा परेन । त्यो कसरी, किन हाम्रो भागमा परेन समीक्षाको विषय होला । 
    संघ हाम्रो भागमा नपरेपछि हाम्रो पार्टीको अध्यक्षले नै मलाइ तपाइ प्रदेशमै जानोस् भन्नु भएको थियो । अध्यक्षले भनिसकेपछि मैले डोटी जिल्लाका केही साथीहरुसँग सामान्य सल्लाह गर्ने काम गरेँ । प्रदेशमा मलाइ अनिवार्य दिनुपर्छ, तल टीकट नभइ हुँदैन भन्ने मेरो कहीँ पनि दावी थिएन र त्यस्तो दावी मैले कहीले गर्दैन पनि । तर केन्द्रबाटै नेतृत्वले भनिसकेपछि सामान्य मानसिकता बनाएको थिएँ । मलाइ प्रदेशमा जानुपर्छ किन भनियो, किन रोकियो यसबारेमा म अहिले पनि अनविज्ञनै छु । प्रदेशमा जाने मेरो प्राथमिकतानै थिएन । मैले पार्टीको जिल्ला, प्रदेश र केन्द्रको नेतृत्वलाई मेरो पहिलो प्राथमिकता संघनै हो, गठबन्धनले गर्दा संघमा नपाएको अवस्थामा पार्टी र पार्टीको नेतृत्वले जे निर्देशन दिन्छ त्यो कुरालाई मैले मानेर जान्छु भनेको पनि थिएँ । प्रदेशमा हुनुपर्छ भनेर मेरो जिद्दी पनि थिएन र अध्यक्षले भनिसकेको अवस्थामा किन रोकियो भन्ने मलाइ जानकारी पनि छैन । 

पार्टी अध्यक्षले नै प्रदेशमा जान भनेको भन्नुभयो तर अन्तिममा चुनावमा नजाने अवस्था कसरी बन्यो ?
    मैले भनिसकेँ प्रदेशमा दोहोरिने चाहना थिएन, पार्टी नेतृत्वले भनेपछि सामान्य मानसिकतामात्र बनाएको थिएँ ।    म प्रदेशमा जाने भनेपछि पार्टीभित्रै केही साथीहरुलाई चित्त बुझेन । पाँच वर्षसम्म मुख्यमन्त्री चलाएको व्यक्ति फेरि त्यही पदमा आउँछ कि भन्ने प्रदेश नेतृत्वमा रहेका केही नेताहरुको संकीर्ण मानसिकताले मेरो उम्मेदवारीको बारेमा मिडिया र सामाजिक सञ्जालमा नभएका कुराहरु लेख्न लगाउनेजस्ता षड्यन्त्र भयो । पार्टीको प्रदेशको नेतृत्व र प्रदेश नेतृत्वसँग जोडिएको केन्द्रको नेतृत्वबाट चलखेल भएको हुनसक्ने मैले महसुस गरेको छु । तर मैले टीकट किन पाएन भन्नेमा मेरो कुनै असहमति छैन । मैले पाँच वर्षसम्म काम गरिसकेको र नेतृत्वले नै तल लड भनिसकेपछि त्यसलाई रोक्नुपर्ने बाध्यता कसरी आयो र त्यो किन भयो भन्नेमात्रै हो ।
 
प्रदेशको नेतृत्व भन्नाले कसलाई इंगित गर्नु भएको हो ?  
    हाम्रो पार्टीको नीतिअनुसार प्रदेशको हकमा इन्चार्जनै प्रदेशको नेतृत्व मानिन्छ । गत असोज १५ गते पार्टी अध्यक्षले मलाइ प्रदेशमा जानोस् भन्ने वित्तीकै मेराविरुद्ध यहाँ चलखेल सुरु भयो । मुख्यमन्त्रीलाई तल आउन दिनु हुँदैन, मुख्यमन्त्री तल आयो भने फेरि मुख्यमन्त्री हुन्छ भनेर तलबाटै चलखेल भयो । त्यसले केन्द्रीय नेतृत्वलाई पनि प्रभावमा पारेको हुनसक्ने मलाइ लाग्छ । पार्टी नेतृत्वले पनि अहिलेसम्म तपाइलाई यो कारणले लड्न भनिएको थियो र यो कारणले रोकियो भन्ने कुरा भनेको छैन । 

पाँच वर्षसम्म सरकार चलाउँदा तपाइले गरेका कामप्रति असन्तुष्ट भएर तपाइको पार्टीले चुनावमा नपठाउने निर्णय गरेको हो कि ?
    पार्टीभित्रका केही व्यक्तिको असन्तुष्टि हुनसक्छन् तर पार्टीको असन्तुष्टि होइन । यदि पार्टीको नै असन्तुष्टि हुन्थ्यो भने मलाइ पाँच वर्षसम्म सरकारमा किन राख्थ्यो ? हिजो एमाले र माओवादीको संयुक्त सरकारको नेतृत्व गर्दा पनि मप्रति पार्टीको असन्तुष्टि आएन । त्यसपछि नेकपा भयो । तीन वर्षसम्म मैले नेकपाको दुई तिहाइको सरकारको नेतृत्व गरेँ, त्यो अवस्थामा पनि पार्टीगत रुपबाट असन्तुष्टि आएको थिएन । न केन्द्रको नेतृत्वमा असन्तुष्टि थियो, न पार्टीगत रुपबाट संस्थागत असन्तुष्टि थियो । तर प्रदेशमा पार्टीका केही व्यक्तिहरु मप्रति सुरुदेखिनै असन्तुष्ट थिए । त्यो असन्तुष्टिको पछाडिको कारण मैले बारम्बार सार्वजनिक रुपमा भनेको पनि छु । मैले कुनै नेतालाई खुशी पार्न कहिल्यै सत्ताको दुरुपयोग गरेन । सत्ता र स्रोतको दुरुपयोग गरेर कुनै मान्छेको चित्त बुझाउने काम मैले कहिले गरेन । समग्र पार्टी असन्तुष्ट हुन्थ्यो भने पाँच वर्षसम्म मलाइ राखिराख्नु पर्ने थिएन । हिजो दुई पार्टीको, त्यसपछि नेकपाको र अहिले तीन पार्टीको सरकारको नेतृत्व गर्ने मौका मलाइ नदिनु पथ्र्यो । 
    अहिले मैले राम्रो काम गर्न नसकेको कारणले यो प्रकारको परिस्थिति आयो भनेर मेरा विरुद्ध भ्रम फैलाउने, सामान्य मान्छेसँग दाँजेर मेरो मलाइ अनावश्यक विवादमा तान्न खोजिएकोमात्र हो । त्यसैले पार्टीको असन्तुष्टि होइन । केन्द्रीय नेतृत्व, खासगरेर श्रद्धेय अध्यक्षबाट मैले त्यस्तो कहिल्यै महसुस गरेन । पार्टीको प्रदेश कमिटीले अहिलेसम्म संस्थागत रुपबाट सरकारले यो काम गर्नुपर्छ, यो काम गर्नु हुँदैन, यस्तो कानुन, बनाउनु पर्छ, यस्तो कानुन बनाउनु हुँदैन भनेर मलाइ कहिले पनि भनेको छैन । नेकपा हुँदासम्म त्यो हुन्थ्यो, त्यसपछि भएकै छैन । मैले मुख्यमन्त्रीको सपथ ग्रहण गरेको केही समयदेखिनै पार्टीभित्र केही व्यक्तिले समयसमयमा असहज वातावरण बनाउन खोजे । त्यसका वावजुद पनि पार्टी अध्यक्षको सहयोग र निर्देशनमा म पाँच वर्षसम्म सरकार चलाउन सफल भएँ ।


चुनावी प्रतिस्पर्धामा त हुनुहुन्न, निर्वाचन परिचालनमा तपाइको पार्टीले तपाइलाई के भूमिका दिएको छ ? निर्वाचनमा पार्टीलाई जिताउन तपाइको कस्तो भूमिका रहन्छ ?
    सरकार प्रमुख भएकाले पार्टीले अहिले मलाइ त्यस्तो कुनै ठोस भूमिका त दिएको छैन । मुख्यमन्त्रीकै हैसियतले म बसेको छु र सरकारकै भूमिकामा छु । तर म पार्टीको केन्द्रीय सदस्य पनि भएको नाताले मेरो दायित्व र भूमिका पार्टीका उम्मेदवारलाई जिताउनमा रहन्छ । पार्टी चुनावमा होमिएको अवस्थामा मेरो दायित्व पनि पार्टी र गठबन्धनका उम्मेदवरालाई जिताउने हुन्छ । त्यहीअनुसार मैले मेरो ठाउँबाट भूमिका खेल्छु । मेरा आफ्ना असहमति पार्टीमै राख्छु र पार्टीले गरेको निर्णयलाई मैले सहर्ष स्वीकारेर नै जान्छु । चुनावमा पार्टीगत रुपबाट मेरो मुख्य दायित्व नभए पनि गठबन्धनलाई जिताउने नै मेरो जिम्मेवारी हो । मैले पाँच वर्षमा गरेको काम र मेरो नेतृत्वमा सुदूरपश्चिममा भएका समग्र कामहरुको आमनागरिकबीचमा प्रचारप्रसार गर्ने, आगामी पाँच वर्ष सुदूरपश्चिमको विकास कसरी गर्ने भनेर मैले बनाएको पञ्चवर्षीय योजनालाई पनि जनताको बीचमा लगेर पार्टी र गठबन्धका उम्मेदवारलाई जिताउने भूमिकामा म दृढताका साथ लाग्छु ।

तपाइले पाँच वर्षमा गरेका राम्रा कामलाई तपाइको पार्टीले चुनावमा कसरी लैजाँदै छ ?
    पार्टी नेतृत्वको सरकारका उपलब्धीलाई पार्टीले संस्थागत रुपबाटै चुनावमा जनताका बीचमा लैजानु पर्ने हो । एमालेका साथीहरु हिजो एमालेसहित र त्यसपछि नेकपाको समयमा आफूहरु सहित हुँदा सरकारले गरेका कामको प्रचार गर्ने र जस लिने काममा लागिरहनु देखिन्छ । माओवादीले झन् जस लिन खोज्नु पथ्र्यो । तर कताकता संकीर्ण भएजस्तो, प्रदेश सरकारले गरेको विकासलाई भनिहाल्यो भने मुख्यमन्त्रीले जस पाउँछ कि सोँचेजस्तो खासगरेर पार्टीको मुख्य नेतृत्वमा बसेका केही साथीहरुमा रहेको मैले पाएको छु । त्यस्तो मान्न जरुरी छैन । किनभने माओवादीको नेतृत्वमा भएको कामको जस माओवादी पार्टीले पाउनु पर्छ । हामीले गरेका सकारात्मक कामको प्रचार र गर्न नसकेका कामलाई अब गर्छौँ भनेर जनताको बीचमा जाँदानै माओवादी र गठबन्धन दुवैलाई फाइदा हुन्छ । तर पार्टीभित्रका केही नेताको संकीर्ण मानसिकताले त्यो हुन सकेको छैन ।

तपाइले भनेजस्तै आफ्नै पार्टीको नेतृत्वको सरकारले गरेका कामलाई जनतामा लैजान नसक्दा चुनावमा यसको असर कस्तो पर्ला ?
     पार्टी चुनाव जित्छ, त्यो पार्टी सरकारमा जान्छ । सरकारले गरेका राम्रा कामको प्रचार गरेर पार्टी फेरि चुनाव जित्छ । लोकतन्त्रमा संभवतः यो संसारभरिकै अभ्यास हो । तर हाम्रो पार्टीमा त्यो खालको अभ्यास व्यवस्थित रुपबाट हुन सकेको छैन । गणतान्त्रिक व्यवस्थाको पहिलो प्रधानमन्त्री हाम्रो पार्टीको अध्यक्ष प्रचण्डले जे नयाँ काम गर्नु भएको थियो, त्यसलाई संस्थागत प्रचार गर्न नसकेको कारणले २०७० सालमा हामीले चुनावमा अपेक्षित सफलता पाउन सकेनौँ । त्यसपछि पनि हाम्रो पार्टीको नेतृत्वमा सरकार बने । ती सरकारले एकदमै नयाँ र विगतमा नभएका काम पनि गरे । तर त्यसलाई जनताको बीचमा व्यवस्थित रुपबाट ल्याउन नसक्दा केही समस्याहरु सिर्जना भए । अहिले पनि हाम्रो पार्टीको नेतृत्वमा सुदूरपश्चिम र अरु प्रदेशमा बनेका सरकारले गरेका राम्रा कामलाई संस्थागत रुपबाट पार्टीले जिम्मा लिएर जानुपर्नेमा त्यो हुन सकेको छैन । त्यसलाई संस्थागत गरेर लैजाने अझ पनि हामीसँग समय छ । पार्टीले त्यसमा ध्यान दिन जरुरी छ । कुनै व्यक्तिविशेषको रिसले आफ्नो सरकारका कामलाई जनतामा नलैजाँदा त्यसको घाटा पार्टीलाई हुन्छ । सरकारले काम गर्न नसकेको सन्देश जान्छ । अहिलेका कामलाई श्रेय नदिएर जाँदा हामीलाई घाटानै हुन्छ ।

टीकट वितरणका बेला तपाइका केही असन्तुष्टिहरु सार्वजनिक भएका थिए, असन्तुष्टि के मा थियो ?
    कुनै विषयमा मेरो असन्तुष्टि थिएन, मैले अघि पनि भने संघ मेरो प्राथमिकतामा हो । संघ भागमा परेन भने पार्टीले जे निर्णय गर्छ त्यो स्वीकार्य हुन्छ भनेको थिएँ । मैले कुनै पनि दिन मलाइ यो ठाउँमा जसरी पनि चुनाव लडाउनु पर्छ भनेर नेतृत्वलाई दवाव पनि थिएन । न नेतृत्वलाई हारगुहार गरेको थिएँ । पार्टीले गरेको निर्णय सहर्ष स्वीकार गर्छु भनेकै थिएँ । केन्द्रको नेतृत्वलेनै तपाइ तल जाने तयारी गर्नोस भनिसकेपछि सामान्य छलफलको प्रकृया बढाएको हो । पछि किन हुन सकेन, त्यसमा मेरो कुनै गुनासो पनि छैन । तर मलाइ आँच आउने गरी जुन प्रकारको कुराहरु भए, त्यसपछि घटनाक्रमहरु अगाडि बढे, जहाँ पनि मुख्यमन्त्री आफैले लड्न खोजेकोजस्तो पारियो । कसैलाई  मुख्यमन्त्री बन्नु थियो होला, म आएपछि मुख्यमन्त्रीका कोही आकांक्षीलाई आफू पाउँदैन कि भन्ने डर थियो होला । यद्यपि टीकट नपाएकोमा असन्तुष्टि र आपत्ति होइन कि यी कुराहरुमा मेरो आपत्ति हो । 

अन्तिममा, तपाइले आफ्नो पाँच वर्षको कार्यकाललाई कसरी मूल्यांकन गर्नु हुन्छ ? सरकारले यो अवधिमा के उपलब्धी हासिल गर्‍यो ?
     हाम्रो देशको राजनीति, प्रशासनिक र व्यवस्थामा जुन परिवर्तन आयो, त्यसलाई संस्थागत गर्ने र जनताको बिचमा स्थापित गर्ने हाम्रो पहिलो प्राथमिकता थियो । यसलाई स्थापित गर्न, संस्थागत गर्न र यसको जग बसाल्न हामी सफल भएका छौँ । व्यवस्थापन, कानुन निर्माणसँगै हाम्रो प्रदेशको अबको मार्गदर्शन के हुने, हामी के आधारमा, कुन कुरालाई प्राथमिकतामा राखेर अगाडि बढ्न सक्छौँ भनेर तय ग¥यौँ र त्यसलाई कार्यान्वयनमा लैजाने कुरालाई अगाडि बढायौँ । यो सँगसँगै कर्मचारी समायोजन, जनतालाई सेवा दिन जिल्लामा प्रदेश सरकारका निकाय, कार्यालयहरु व्यवस्थापन गर्ने कामलाई सँगसँगै लगेर गयौँ । यी कामहरु कार्यान्वयन गर्दै जाने क्रममा सुरुवाती चरणमा केही समस्या सिर्जना भए । तर, पछिल्लो चरणमा मुल रुपमा संघीयतालाई स्थापित गर्ने, संस्थागत विकास गर्ने, संघीयताको जग बसाल्ने काम तथा स्थिर र स्थायी सरकार सञ्चालन गर्नमा हामी सफल भएको मैले महसुस गरेको छु ।
    योसँगसँगै विकास निर्माणका काम पनि अगाडि बढाएका छौँ । सडक निर्माणमा हामीले बढी जोड दियौँ । स्वास्थ्यका क्षेत्रमा विगतको तुलनामा आमुल परिवर्तन भएको छ । कृषि, पर्यटन, भौतिक संरचना निर्माण तथा नीति र कानुन निर्माणमा हामी सफल भएका छौँ । कार्यकाल कस्तो रह्यो भन्ने विषय आमनागरिक, वौद्धिक वर्ग र समाजले कसरी बुझिराखेको छ भन्ने कुरा पनि एउटा होला तर मैले आफै पाँच वर्षे कार्यकाल सम्पन्न गर्दैगर्दा सफल भएकोनै ठान्छु । केही कुराको जग बसालिएको छ, केही कुरा परिणाममुखी भएका छन् र केही कुरालाई हामीले सुरुवात गरेर त्यसको सकारात्मक सन्देश जनतामा पुर्‍याउन सफल भएका छौँ । ( नयाँपत्रिकाबाट )

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु