समानुपातिक सांसद चयनका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीभित्र विवाद

छिनोफानो   बिहिबार २२, मङि्सर २०७९ ०१:२१

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र विवाद देखिएको छ । समानुपातिक सांसद चयनका विषयलाई लिएर पार्टीभित्र विवाद देखिएको हो । रास्वपाले गत असोजमा प्राइमरी इलेक्सन गरेर धेरै मत ल्याउनेहरूलाई प्रतिनिधि सभाको बन्दसूचीमा नाम राखेको थियो ।

प्राइमरी इलेक्सनमा मत कम आएका र बन्द सूचीमा क्रमअनुसार तल नाम रहेकालाई पार्टीले समानुपातिक सांसद चयन गर्न लागेको विरोधमा आज असन्तुष्टहरुले बसुन्धारास्थित केन्द्रीय कार्यालय घेर्दै विरोध सभा गर्न लागेका छन् । अहिले पार्टी केन्द्रीय कार्यालयमा ठूलो संख्यामा नेता–कार्यकर्ता जम्मा भएका छन् ।

पार्टी एक नेताका अनुसार आजै टुंगो गर्न लागिएको बन्दसूचीको विषयलाई लिएर विवाद भएको हो । ‘निर्वाचन आयोगले मागेको बन्दसूचीको विवरण आजै अन्तिम रुप दिने तयरी छ’, उनले भने, ‘तर केही नामका विषयमा असन्तुष्टि बढ्याे । उहाँहरु कार्यालयमा जम्मा हुनु भएको छ ।

रास्वपाले प्राइमरी इलेक्सन गरेर सबैभन्दा बढी मत ल्याएकालाई समानुपातिक सूचीको पहिलो नम्बरमा राखेको थियो। ४ मंसिरको चुनावमा समानुपतिकतर्फ १३ सिट जितेको छ । समानुपातिकका केही नामहरु रास्वपाले तलमाथि गर्न खोज्दा विवाद सतहमा आएको हो । सुनसरी क्षेत्र नम्बर २ बाट रास्वपा नेता लालविक्रम थापाले पार्टीलाई सही बाटोमा हिँडाउनुपर्ने बताएका छन् । उनले आज सवा ११ बजे रास्वपा केन्द्रीय कार्यालय ‘घण्टीघर’ मा खबरदारी कार्यक्रममा सहभागी हुन बुधबारै आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु