बैतडीमा लगातारको वर्षाले विद्यालयमा क्षति

छिनोफानो   बिहिबार १४, असार २०८० ०२:१७

बैतडीको लगातारको वर्षाले विद्यालयमा क्षति पुगेको छ । जिल्लाको पाटन नगरपालिका-९ मा रहेको सिद्धेश्वर मावि हुक्केडाँडाको विद्यालयमा लगातारको वर्षाले क्षति पुगेको हो । विद्यालयको खेलमैदान र पर्खाल पहिराले लगेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिनुभयो ।

वर्षाका कारण विद्यालयको तीन कोठे भवन उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार विद्यालय भवनको आँगनबाटै पहिरो गएको छ । भवन उच्च जोखिममा रहेकाले भवन भत्किने अवस्थामा पुगेको छ । विद्यालय भवन पहिरोको जोखिममा परेपछि पठनपाठन नै प्रभावित भएको छ ।


विद्यालय भवन उच्च जोखिममा रहकाले बालबालिका डरैडरले पढिरहेका र विद्यालय बन्द गर्दा पढाइमा बाधा पुग्ने भएकोले बन्द नगरेको उहाँको तर्क छ ।” विद्यालय भवन जोखिममा परेको भन्दै विद्यालय परिवारले आवश्यक सहयोगका लागि सरोकारवाला निकायलाई अनुरोध गरेका छन् । विसं २०१८ मा स्थापना भएको यो विद्यालयमा कक्षा १० सम्म पढाइ हुने गरेको छ ।

यहाँ दुई सय ५२ जना विद्यार्थी अध्ययनरत छन् । यसैबीच पहिरोका कारण बैतडीको सिगास गाउँपालिका-८ स्थित लेक लुपुड माविको भवनमा क्षति पुर्याउनुका साथै उच्च जोखिममा परेको छ । विद्यालय भवनको तल र माथि दुवैतिरबाट पहिरो खसेपछि विद्यालय भवनमा क्षति पुगेको र उच्च जोखिममा रहेको प्रधानाध्यापक हर्कबहादुर धामीले जानकारी दिनुभयो ।

विद्यालयका दुईवटा भवनका नौ कोठा रहेका र तीमध्ये पहिराले दुवै भवनका गरेर चार कोठामा क्षति गरेको छ । यस्तै बाँकी रहेको भवन र विद्यार्थीको खाजा खाने क्यान्टिन पनि जोखिममा गरेको छ । चार कोठे नयाँ भवन सङ्घीय अनुदानमा ७२ लाख रुपैयाँमा निर्माण भएको र उक्त भवन हस्तान्तरण नहुँदै पहिरोले भत्किने सम्भावना रहेको उहाँको भनाई छ । कक्षा १२ सम्मको पढाइ हुने यो विद्यालयमा तीन सय ५० विद्यार्थी अध्ययनरत छन् । मनसुनी वर्षा सुरु भएसँगै पहिरोका कारण सडक, विद्यालयलगायतका संरचनामा क्षति पुग्न थालेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु