१२ वर्षपछि बन्यो कैलालीको कान्द्रा नदीमा पुल

छिनोफानो   बिहिबार १४, असार २०८० ०३:३८

कैलालीको कान्द्रा नदीको पुल बल्लतल्ल १२ वर्षपछि बनेको छ । जिल्लाको भजनी नगरपालिका वडा नम्बर ३ थेकीपुरस्थित कान्द्रा नदीमा पक्की पुल निर्माणको काम १२ वर्षमा पूरा भएको हो । 

कान्द्रा नदीमा पक्की पुल निर्माणका लागि २०६८ जेठ २१ गते सम्झौता भएको थियो । २०८० को असारमा पुल निर्माणको काम पूरा भएको हो । तर अझै पक्की पुलसम्म जाने सडक निर्माणको काम बाँकी छ । कान्द्रा नदीको पुल अधुरै छोडेर निर्माण कम्पनी बेपत्ता हुँदै आएको थियो । 
एक सय मिटरको उक्त पुल निर्माणका लागि १२ वर्ष लागेको हो। पटक-पटक पुल निर्माणको समय थप हुँदै आएको भएपनि साल्पा/शेर्पा-लामा-विरुवा जेभीले काम गर्न सकिरहेको थिएन्। हुलाकी सडक योजना कार्यालयले निर्माण कम्पनीलाई पटक-पटक पुलको काम गर्न आग्रह गर्दै आएका भएपनि काम अधुरो रहेको थियो । 
असार भित्र पुलसम्म जाने सडकको समेत काम पूरा हुने भएकाले बर्खामा समस्या नहुने हुलाकी राजमार्ग कार्यालयले बताएको छ । हुलाकी सडक योजना कार्यालय, धनगढीका सूचना अधिकारी दीपक सुनारले असार भित्र सबै काम पूरा हुने बताए । उनले पुलको बाक सकिएको बताएका छन् । 

पटक-पटक म्याद थप र ताकेता गर्दा पनि निर्माण कम्पनीले पुलको काम अलपत्र छोडेको भन्दै तीनवटै निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने र ठेक्का तोड्ने तयारीसम्म गरिएको थियो । चार करोड ४३ लाख रुपैयाँ साल्पा/शेर्पा-लामा-विरुवाले संयुक्त रुपमा ठेक्का पाएको थियो। तीन कम्पनीमध्ये लामा पहिल्यैदेखि कालोसूचीमा रहेको छ । आर्थिक संकटका कारण विरुवाले काम गर्न सकेन् । 

२०६८ जेठमा ठेक्का भएको पुलको पहिलो निर्माण अवधि ३० महिना रहेको थियो। तर, डिजाइन परिवर्तन गर्नु पर्ने कारणले साढे चार वर्षसम्म काम भएन । 

२०७२ पुसमा डिजाइन परिवर्तन भएपछि काम सुरु गरिएको थियो। साढे दुई वर्षको पहिलो म्याद २०७५ असारमा सकिएको थियो। चौथो पटक थप भएको म्याद गत चैत मसान्तमा सकियो। पटक-पटक म्याद थप गरेर समेत पुल निर्माण भएपछि कैलालीको भजनी क्षेत्रका नागरिकलाई सहज भएको छ। उनीहरुले हुलाकी राजमार्ग हुँदै ओहोरदोहोर गर्न पाउने भएका हुन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु