महाकाली सिँचाइ आयोजना तेस्रो चरण - मूल नहर परीक्षणका लागी छोडियो पानी

छिनोफानो   शुक्रबार २२, असार २०८० ०४:२८

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने निर्माणाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गतको मूल नहर परीक्षणका लागि पानी छाडिएको छ । आज टनकपुर ब्यारेजबाट महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर परीक्षणका लागि पानी छाडिएको महाकाली सिँचाइ आयोजनाले जनाएको छ ।


भीमदत्त नगरपालिकाको ब्रह्मदेवबाट शुक्लाफाँटा नगरपालिकाको फुलेली घरकटुवा खोलासम्म पानी छाडेर मूल नहर परीक्षण गरिएको आयोजनाका निर्देशक रणबहादुर बमले जानकारी दिए । ब्रह्मदेवबाट २८ किलोमिटर फुलेलीसम्मको मूल नहरमा पानी छाडिएको र एक सातासम्म पानी छाडेर मूल नहर परीक्षण गरिने उनको भनाई छ । महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअन्तर्गत ब्रह्मदेवबाट फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको उक्त मूल नहरमा पानी छाडेर परीक्षण गर्ने कार्य चलिरहेकाले यस अवधिमा नहर छेउछाउमा आफ्ना बालबच्चा र चौपाया नछाड्न आयोजनाले आग्रह गरेको छ ।

 

नेपाल-भारतबीच भएको महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट नेपाली भूमिसम्म भारतले निर्माण गर्नुपर्ने एक हजार दुई सय मिटर नहर निर्माणको काम सम्पन्न भइसकेको छ । उनका अनुसार अहिले मूल नहर निर्माण भएको क्षेत्रमा शाखा नहर निर्माणको काम भइरहेको छ । बाइस शाखा नहरमध्ये दुईको निर्माणको काम सकिएकोे छ भने,अन्यको काम भइरहेको छ । आयोजनाअन्तर्गत मूल नहर २८ किलोमिटर शुक्लाफाँटाको फुलेलीबाट कैलालीको गोदावरीखोला ४८ किलोमिटरसम्म निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ । आगामी आव २०८०/८१ का लागि आयोजनामा रु एक अर्ब १७ करोड बजेट विनियोजन गरिएको छ । चालु आवको तुलनामा आगामी आवका लागि बजेट कम छुट्याइएको निर्देशक बमले बताए । 

 

महाकाली सन्धि भएको १० वर्षपछि आव २०६३/६४ देखि निर्माण थालिएको नहरको कामले केही वर्षयता गति लिएको छ । विसं २०५२ माघ २९ मा नेपाल र भारतबीच भएको महाकाली सन्धिअनुसार नेपालले टनकपुर बाँधबाट नहरमार्फत वर्षायाममा २८ दशमलव ३५ घनमिटर प्रतिसेकेन्ड तथा सुक्खायाममा आठ दशमलव ५० घनमिटर प्रतिसेकेन्ड पानी पाउनुपर्छ । तर यो पानी उपयोग गर्नका लागि नेपालले एक सय ५२ किलोमिटर लामो मूल नहर, एक सय ७२ किलोमिटर लामो शाखा नहर र एक हजार २३ किलोमिटरको प्रशाखा नहर निर्माण गर्नुपर्छ । राष्ट्रिय गौरवको आयोजनामा समेटिएपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरणले गति लिएको हो । बाइस शाखा नहर निर्माण भए पाँच हजार तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउन सकिने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु