कञ्चनपुर-कमला सडकमा नयाँ प्रविधिमा पुल निर्माण गरिने

छिनोफानो   शनिबार २३, असार २०८० १०:३२

पूर्व-पश्चिम राजमार्गअन्तर्गतको कञ्चनपुर-कमला सडकमा नयाँ प्रविधिमा आधारित रहेर पुल निर्माण गरिने भएको छ । पुलको माथिल्लो भाग (बिम) निर्माणस्थलमा नबनाई प्रयोगशालामै बनाउने गरी नयाँ प्रविधिको प्रयोग गर्न लागिएको हो । 

नेपालमा समान्यतया पुल बनाउँदा त्यसको सबै भाग निर्माणस्थलमा नै बनाउने गरिएकामा नयाँ प्रविधिका रुपमा प्रयोगशालामा बनाएर ल्याएर जडान गर्न लागिएको कञ्चनपुर-कमला सडक योजनाले जनाएको छ । सो योजनाका लागि ऋण सम्झौता हुनु पहिले एसियाली विकास बैंकसँग प्राविधिक हस्तान्तरणका विषयमा छलफल भएको थियो । सोही आधारमा नयाँ प्रविधिको प्रयोग यो योजनामा गर्न लागिएको कञ्चनपुर-कमला सडक योजना पश्चिमका प्रमुख नारायणदत्त भण्डारीले बताए । 

यो सडकको पूर्वी र पश्चिम दुवै खण्डका सबै पुलमा यही प्रविधिबाट गर्न लागिएको उनले बताए । उनका अनुसार गुणस्तर र समय बचतका हिसाबले यस्ता पुलहरु हाम्रा लागि उपयोगी रहेका छन् । पुलको माथिल्लो भाग भारतमा बनाइएकामा कतिपय बनिसकेर ल्याइएको र कतिपय बनिरहेको उनको भनाइ छ । नालाहरु बनिरहेको र त्यसलाई ल्याएर राखिने र पुलमा प्रयोग गरिएको छ । यस्तै उक्त आधारीत प्रविधिलाई ‘प्रि कास्ट ब्रिज’ भनिन्छ । निर्माणस्थलमा नै सबै निर्माणको काम गरिने प्रविधिलाई ‘कास्ट इन सिटु’ भन्ने गरिएको छ । 

नयाँ प्रविधिबाट पुल बनाउँदा बढी गुणस्तरीय बनाउन सकिने अनुमान सडक योजनाले गरेको छ । 

समय बचतका हिसाबले पनि ‘प्रि कास्ट ब्रिज’ महत्त्वपूणर् मानिन्छ । व्यस्त सडकमा निर्माणको समय बढी लाग्ने हुँदा यसलाई उपयुक्त मानिन्छ । एकातिर निर्माणस्थलमा जग बनिरहँदा अर्कातिर प्रयोगशालामा बन्ने र एकै पटक काम हुँदा समय कम लाग्ने प्रमुख भण्डारीले बताए । 

हाल नेपालमा प्रयोगमा रहेको प्रविधिमा निर्माणस्थलमा जग बनेपछि मात्रै फर्मा हाल्नुपर्ने र त्यसपछि ढलान गरेर पुल निर्माण गरिने उनले बताए । ढलान सेट हुन कम्तीमा २८ दिन लाग्छ र त्यसपछि बल्ल माथिको काम गर्न सकिन्छ । ‘प्रि कास्ट’ बाट गर्दा ती सबै कुरा हट्ने उनले बताए । उनले भने, “जग, पिलर हुनासाथ बिम ल्याएर हाल्न सकिने हुन्छ ।”

योजनाको पूर्वी खण्डमा सानाठूला गरी २९ र पश्चिम खण्डमा पर्ने २५ पुल रहेका छन् । सन् २०२२ को अक्टोवरमा सुरु भएको योजनाको अवधि आगामी अक्टोवरसम्म रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु