काठमाण्डाै महानगरले गरेकाे कामबाट सङ्घीय सरकारलाई उत्प्रेरणा मिलेको छ : प्रधानमन्त्री

छिनोफानो   शुक्रबार २९, मङि्सर २०८० ०१:३५

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाण्डाै महानगरपालिकाले गरेका प्रगतिशील कामलाई आफूले गम्भीरतापूर्वक नियालिरहेको बताउनु भएकाे छ । २९औँ काठमाण्डाै महानगर दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनु भएकाे हाे ।

उहाँले सहरी सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदा संरक्षणमा महानगरको पहलले सङ्घीय सरकारलाई सकारात्मक उत्प्रेरणा मिलेकाे बताउनु भएकाे छ ।

'लागुऔषध, सुर्ती चुरोटलगायत वस्तुमा लगाइएको नियमन, छात्रवृत्ति, रोजगारी सिर्जनालगायत क्षेत्रमा महानगरले जे–जति पहल लिएको छ, यसबाट सरकारलाई समेत उत्प्रेरणा मिलिरहेको छ', उहाँले भन्नुभयो, 'यसका निम्ति मेयर, उपमेयररलगायत सिङ्गो महानगर परिवारलाई बधाई ज्ञापन गर्दै आउँदाे दिनमा समेत अविचलितरूपमा अगाडि बढ्न अपिल गर्दछु ।'

काठमाण्डाै उपत्यकालाई सफा, हरियालीयुक्त, सांस्कृतिक वैभवको जगेर्नाका माध्यमबाट स्पन्दनयुक्त र आधुनिक विशेषताले भरिपूर्ण ऐतिहासिक सहरका रूपमा विकास गर्न महानगरको प्रयास प्रशंसनीय रहेको उहाँको भनाइ छ । 'काठमाण्डाै महानगरले भौतिक र मानवीय विकासका पक्षलाई सन्तुलित ढङ्गले अगाडि बढेर देशका सबै पालिकालाई अनुकरणीय नमुना प्रस्तुत गरेकाे छ', प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'नेपाल सरकारका तर्फबाट गर्नुपर्ने साथ, सहयोग र निर्णयका निम्ति म सधैँ तत्पर छु ।'

साथै उहाँले पालिकाको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्दै वित्तीय हस्तान्तरणलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले पालिकालाई संविधानको मर्म र भावनाअनुरूप स्रोत तथा साधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकारसम्पन्न तुल्याउन सरकारले प्रभावकारी काम गर्ने बताउनुभयो ।

नेपालको संविधानले सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तका आधारमा तीन तहको सरकारको प्रष्ट व्यवस्था गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन कानुन निर्माण पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु