भूकम्प प्रभावितका लागि अर्थबाट एक अर्ब निकासा : ९३ करोड सम्बन्धित जिल्लामा पठाइयो

छिनोफानो   मङ्गलबार ०३, पुष २०८० ०७:४१

काठमाण्डाै - भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणका लागि सरकारले एक अर्ब रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार अर्थ मन्त्रालयबाट निकासा भएको रकममध्ये ९३ करोड रुपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ ।

निकासा भएको रकम जाजरकोटमा ५४ करोड, रुकुम पश्चिममा ३४ करोड र सल्यानमा पाँच करोड रहेकाे छ । अस्ति आइतवार अर्थ मन्त्रालयले एक अर्ब रुपैयाँ निकासा गरेको थियो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार हिजो ९३ करोड रुपैयाँ भूकम्प प्रभावित जिल्लामा पठाइएको छ । यसअघि कोषमा जम्मा भएको रकम पठाइएकोमा अहिले अर्थ मन्त्रालयबाट प्राप्त रकम पठाइएको हो ।

कार्यकारी प्रमुख पोखरेलका अनुसार अर्थबाट निकासा भएको यो रकम पहिलो हो । गएको कात्तिक २७ को मन्त्रिपरिषद् बैठकले १० अर्ब रुपैयाँ पठाउने निर्णय गरेको थियो । त्यसअनुसार अर्थले एक अर्ब भूकम्प पीडितका लागि निकासा गरेको हो । यसअघि प्राधिकरणले अस्थायी आवास निर्माणका लागि एक अर्ब ४१ करोड रुपैयाँ पठाइसकेको छ । यसबाट ती जिल्लामा अवास निर्माणको काम थालिएको छ ।

पछिल्लो तथ्याङ्कअनुसार झण्डै ६० हजार लाभग्राहीमध्ये १५ हजारसँग सम्झौता भएकोमा पहिलो किस्ताबापत चार हजार तीन सय ६४ घर निर्माण भइसकेका छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु