विमानस्थल प्रहरी प्रमुख चन्दले किन दिए राजीनामा ?

छिनोफानो   आइतबार २१, माघ २०८० ०३:४९

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएको खबर शनिबार एकाएक बाहिरियो ।

चन्दको एक्कासी राजीनामाले धेरैलाई आश्चर्यमा पार्‍यो । कतिपयले उनको राजीनामालाई विमानस्थलमा अध्यागमन विभागका कर्मचारी र प्रहरीबीच भएको विवादसँग जोडे भने कतिले अन्तर्यमा अरु नै कारण हुनसक्ने बताए ।

कतिपयले सुन समितिले गरिरहेको छानबिनसँग जोडेर पनि व्याख्या गर्ने कोशिस गरे । चन्द स्वयंले भने शनिबार कुरा गर्दै व्यक्तिगत कारणले राजीनामा दिएको बताए ।
उनले आफूले राजीनामा दिइसकेको बताइसक्दा पनि प्रहरी प्रधान कार्यालय, नक्साल भने राजीनामाबारे बोलेको छैन ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकाल भन्छन्, ‘औपचारिक रुपमा पत्र आएको मलाई थाहा छैन, राजीनामा आउँदा उपत्यका प्रहरी कार्यालय हुँदै यहाँसम्म आउनुपर्ने हो ।’

प्रहरी सेवामा खासै महत्वपूर्ण पोष्टिङ नपाएका उनी २४ पुसमा भएको डीआईजी सरुवा सूचीमा परेनन् । ‘त्यतिबेला पनि उहाँले असन्तुष्टि जनाउनुभएको थियो’, एक अधिकृतले भने ।
तर, आइतबार उनको राजीनामाको पत्र प्रहरी प्रधान कार्यालयमा रहेको मानवस्रोत विभागमा पुगिसकेको छ ।

उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले चन्दको राजीनामाको कारणबारे आफूलाई थाहा नभएको बताए । तर, विमानस्थल सुरक्षा कार्यालयका अधिकृतहरुका अनुसार, विमानस्थलमा प्रहरी र अध्यागमन अधिकृतबीच विवादको प्रतिवेदन बुझाएलगत्तै डीआईजी चन्दले असन्तुष्टि व्यक्त गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायाँलाल मोक्तान १२ माघमा विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्न खोज्दा मोक्तानले आफू ‘अधिकृत भएको’ बताउँदै जाँच नगरी हिँड्न खोजेका थिए । त्यसक्रममा उनले अपशब्द समेत बोलेको प्रहरीको दाबी छ ।

लगत्तै प्रहरी सहायक निरीक्षक असई सञ्जय तामाङले आएर उनको कठालो समातेका थिए । त्यसक्रममा कर्मचारी र प्रहरीबीच कुटाकुट भएको थियो । यो मामिलामा प्रहरीले आफ्नो ड्यूटी निभाएको भन्दै उनीहरुलाई पुरस्कृत गर्नुपर्ने डीआईजी चन्दले बताउँदै आएका थिए ।

अनलाइनखबर

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु