डीआईजी चन्दलाई विमानस्थलबाट सरुवा गरिँदै

छिनोफानो   सोमबार २२, माघ २०८० १०:०५

राजीनामा फिर्तापछि प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दलाई सरुवा गरिने भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रमुख समेत रहेका डीआईजी चन्दले राजीनामा दिएका थिए।

तर उनको राजीनामा पत्र प्रहरी प्रधान कार्यालयले फिर्ता गरिदिएको छ। उनलाई १० दिन बिदा दिइएको छ। यहीबीचमा विमानस्थल सुरक्षा कार्यालयबाट सरुवा गर्ने तयारी भएको छ ।

गत वैशाखमा विमानस्थल सुरक्षा प्रमुखका रुपमा सरुवा भएका चन्द यसअघि नै त्यहाँबाट अन्यत्र जान चाहेका थिए। उनको इच्छा प्रदेश प्रमुख भएर जाने थियो। तर सरकारले गत महिना सबै प्रदेश प्रमुख हेरफेर गर्दा पनि चन्द परेनन्।

त्यसपछि असन्तुष्ट रहेका चन्दलाई थप दुई वटा घटनाले निराश बनाएको थियो। विमानस्थल भन्सारमा नेपाल प्रहरीलाई जिम्मा नदिई सशस्त्र प्रहरीलाई खटाएपछि नेपाल प्रहरी असन्तुष्ट छ।

यसको अपजस पनि आफूले व्यहोर्नु परेको र नेपाल प्रहरीले विमानस्थलमा विश्वास जित्न नसक्दा यो अवस्था आएको भन्दै उनको आलोचना भएको थियो।

यसअघि विमानस्थलमा भएका सुन तस्करीका छानविन समितिले पनि भन्सारमा नेपाल प्रहरीलाई पनि खटाउनु पर्ने राय दिएका थिए। तर ती रायविपरीत विमानस्थलमा सशस्त्र प्रहरीको टोली खटाइएको थियो।

सशस्त्र प्रहरीले विमानस्थलमा काम थालेको केही दिनमै अध्यागमननका अधिकारी र प्रहरीबिच कुटाकुट भयो। कुटाकुटपछि गृह मन्त्रालयले छानबिन समिति बनाएको थियो।

छानबिन समितिले पनि उनको भूमिकामाथि प्रश्न उठाएको थियो। विमानस्थल प्रहरी नेतृत्वको कमजोरीका कारण पनि उक्त घटना भएको निष्कर्ष समितिले निकालेको थियो।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु