विस्थापित बस्तीलाई स्थानान्तरणमा सकस

छिनोफानो   बुधबार ०२, फागुन २०८० ०२:५४

बाजुरा । बाजुराका बाढीपहिरोबाट विस्थापित बस्तीलाई स्थानान्तरणमा सकस भएको छ । गत २०७८ साल जेठ, असार, साउन र भदौमा आएको बाढीपहिरोका कारण जिल्लाका अधिकाशं बस्ती विस्थापित भएका छन् । 
ती बस्ती स्थानान्तरणका लागि प्राप्त रकम नहुन तथा कतै उपयुक्त जमिन समेत पनि फेला नपरेकाले स्थानीय प्रदेश र सङ्घीय सरकारलाई सकस भएको हो । सुरक्षित स्थानमा बास बस्ने गरी स्थानान्तरणका लागि सरकारसँग माग राख्दै आएको भएपनि त्यो अहिलेसम्म सुनुवाई नभएको स्वामिकार्तिक –१ मुक्तीकोटका नरे लुहारले बताए। उनले भने, ‘गत वर्ष जमिन सबै पहिरोले लियो । अहिले घर पनि पहिरोको जोखिममा छ । अव वर्खा लागेपछि कता गएर बस्ने चिन्ता छ ।’
गत पुसमा बस्ती स्थानान्तरणका लागि प्रमुख जिल्ला अधिकारीको सरकारी टोली अनुगमनका टोली गाउँमा पुगेको लुहारले बताए ।बाजुराका अन्य आठ वटै स्थानीय तहका सयौँ बस्ती पनि बाढीपहिरोको उज्च जोखिममा छन् । २०५६ साल बूढीगङ्गा नदीमा आएको बाढीपहिरोले बूढीगङ्गा–३, बसालीको, सेरामा सयौँ पसल र हजारौ क्वीन्टल धान फल्ने जमिन र दर्जनौ घरछाना बगरमा परिणत भएका थिए ।

त्यसैगरी वि।सं। २०६४ साल आएको बाढीले बूढीगङ्गा–१ अम्कोट, बल्दे, भलाने, कुडीकर्राका लगायतका दर्जनौ घर पहिरोले बगायो । सरकारले यी बस्तीका स्थानीयलाई त्यति बेला कपडा त्रिपाल, नुन, तेल, चामल लगायतका खाद्यान समाग्री उपलब्ध गरेपनि स्थायी बसोबासका लागि भने कुनै व्यवस्थापन गरेको छैन ।

२०७७ साल साउन ४ गते राती आएको अविरल वर्षात्का कारण गौमुलको घट्मुना बडिमालिकाको, राप्का, सेलाघाट, घाँघर, जडाङ्गा, रिला र तिपाडा लगायतका दर्जनौ बस्ती विस्थापित छन् ।

ती बस्तीले उपभोग गर्दै आएका झण्डै सयौँ विघा जमिन समेत बूढीगङ्गा नदिले बगायो । बाँकी रहेको केही जमिनलाई समेत अहिले सम्म नदिले कटान गर्दै आएको छ । 

२०७८ सालको जेठ २३ गते अविरल वर्षातका कारण बूढीगङ्गा १ र २ को कुँडी, खेतकोट नडाग, ताँप्रीसेरा लगायतका दर्जनौ बस्ती पनि बाढीपहिरोको उच्च जोखिममा छन् ।

बडिमालिकाको ओलेना र बूढीगङ्गा नगरपालिकाको ताँप्रीसेरा, बसाली, फालासैन, आसपासका स्थानीय वर्खाको समय सधै त्रसित हुन्छन् । वर्खा बूढीगङ्गा बहाव बढ्दै जान्छ, अनी नदी आसपासका ती बस्तीका स्थानीय रातभर जाग्राम बस्छन् । 

हिउँदमा त यतै बसेका छौ । अब वर्खा लाग्दो भयो । त्यो बेला कता गएर बस्ने बडिमालिका स्थानीय कमल नाथले भने । उनले भने, ‘जडाङ्गा, ओलेना तीपाडा पैमा, बल्दे लगायतका स्थानीयलाई वर्खाको समय खोलाले बगाउँछ की भन्ने डरैडरमा रात काट्नु परेको छ ।’

तटबन्धन गरेपनि एकीकृत बस्ती व्यवस्थापन हुन नसक्दा यहाँका स्थानीयले बूढीगङ्गा नदि कटानको जोखिम मोहोल्दै आउनु परेको छ । 

खप्तड छेडेदहको गुइबन, पाटा, बूढीगङ्गाको अम्कोट ,बजेडी, त्रिवेणीको, पैमा, पन्ताली, ढँडाली, कालापानी, मौरे, किम्नी छतारा लगायतका बस्तीलाई चाँडै नै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने आवश्यक छ । तर ती बस्ती व्यवस्थापन गर्नका लागि भने स्थानीय तथा सङ्घीय सरकारलाई भने निकै सकस भएको नाथले बताए ।

नौ वटै स्थानीय तहका अध्यक्ष तथा प्रमुखले आआफ्नो स्थानीय तहमा विस्थापीत बस्ती स्थानान्तरण गर्नका लागि जिल्ला विपत व्यवस्थापन समितिमा तथ्याङ्क पठाइएको जनप्रतिनिधि बताउँछन् ।

जिल्लामा पुगेको त्यो तथ्याङ्क हेरफेर गरेर सिधै गृह मन्त्रालयमा पठाएका छौ । उताबाट थोरै रकम आउँछ । रकम कम आउँनु र विस्थापित बस्तीलाई स्थानान्तरण गर्नका लागि उपयुक्त ठाउँ नभएकोले त्यो बस्तीलाई स्थानान्तरण गर्न निकै सकस भएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भिमकान्त पौड्यालले बताए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु