इन्द्रेणी बाट निकालिएका कलाकार रुँदै लाइभमा, कृष्ण कँडेलले अन्यायमा पारेको आरोप ( भिडियो सहित)

छिनोफानो   बिहिबार ०३, फागुन २०८० ०७:०९

काठमाडौं । लाइभ दोहोरीको चर्चित प्लेटफर्म इन्द्रेणीभित्रको विवाद सतहमा आएको छ । इन्द्रेणीबाट अघोषित निष्कासनमा परेका पाँचजना कलाकारले फेसबुक लाइभमा आएर सञ्चालक कृष्ण कँडेलविरुद्ध विभिन्न आरोप लगाएका छन् ।

शर्मिला श्रेष्ठलगायतका कलाकारहरू संयुक्तरूपमा लाइभमा आएका हुन् । उनीहरूले पुसदेखि आफूहरूलाई कार्यक्रममा नबोलाइएको बताए । पूर्ण कँडेल र लक्ष्मी घिमिरेले आफूहरूमाथि हातपातसमेत भएको दाबी गरे । यद्यपि, उनीहरूले के कति कारणले विवाद भएको हो र किन उनीहरूलाई निकालियो भन्ने स्पष्टरूपमा बताएनन् । आगामी दिनमा थप तथ्यहरू बाहिर ल्याउने उनीहरूको भनाइ थियो ।
लाइभमा बताइएअनुसार पाँचजनालाई बोलाएको बेलामा मात्रै आउने भनेर कागजमा सही गर्न लगाइएको थियो । आर्थिक कारणले तलवमा राख्न नसक्ने भनेर कँडेलले बताएका छन् । तर, कार्यक्रम नियमित सुटिङ हुँदा पनि नबोलाएर आफूहरूलाई अघोषित निष्कासन गरिएको कलाकारहरूले बताए ।

लाइभ आएकाहरूमा शर्मिलासहित खगेन्द्र विश्वकर्मा, पूर्ण कँडेल, लक्ष्मी घिमिरेलगायत छन् । कँडेल र घिमिरे सञ्चालक कृष्ण कँडेलका नातेदारसमेत हुन् ।

इन्द्रेणीमा नियमित देखिने गरेकी शर्मिला श्रेष्ठ लाइभमै रोएकी थिइन् । आफ्नो बुवाआमाले कृष्ण कँडेललाई भगवान् मान्ने तर आफूलाई उनैले अन्यायमा पारेको श्रेष्ठले बताइन् ।

उनको भनाइ यस्तो छः

म विगत ५-७ वर्षदेखि इन्द्रेणीमा थिएँ । दर्शकहरूले मलाई नियमित देखिराख्नुभएको थियो । तर, पुसदेखि म इन्द्रेणीमा गएकी छैन । कार्यक्रमहरू रेकर्ड भइरहे पनि हामीलाई बोलाइएको छैन । एक महिना प्रतीक्षा गर्दा पनि कुनै रेस्पोन्स नभएपछि लाइभ आउन बाध्य भएका हौं । धेरै दर्शकहरूले कार्यक्रमका बारेमा सोधिरहनु हुन्छ । म विभिन्न बहाना गरेर पन्छिन्छु ।

आज सरस्वती पूजाको दिन हो । म सरस्वती माताको कसम खाएर भन्छु कि कुनै झूटो कुरा बोल्दिनँ । मेरी आमाले टिभीमा कृष्ण कँडेललाई देख्दा ढोग्नुहुन्छ । मेरो बुवाले पनि भगवान् मान्नुहुन्छ । त्यसैले मैले घरमा भन्न सकेको छैन । मलाई थाहा छ, दर्शकबाट पनि गालीको वर्षा हुन्छ होला । जुन थालमा खायो त्यसैमा थुकेको आरोप लाग्छ होला । तर, सबैले भगवान् मानेको व्यक्तिलाई मैले खप्न सकिनँ । औषधि खाएर निदाउनुपर्ने अवस्था आएको छ ।

टिका सानुलाई बिदा गर्ने बेलामा उहाँले भन्नुभएको थियो कि, एकजनालाई झम्टिन आउने बाघले तपाईंहरूलाई पनि भोलि टोक्न सक्छ । यस्तै नै भएको छ । हामीलाई किन बोलाइएन त भनेर अफिसमा जाँदा मेरा कलाकार साथीहरू मसित बोलेनन् । म जाँदा दनादन कार्यक्रम सुटिङ भइरहेको थियो । म स्टुडियो भित्र छिरिनँ । अफिसका स्टाफहरूसँग राम्रो हाँसिखुशी कुरा गरेँ । आफ्नो चोट लुकाएर आएँ ।

म अब ढुंगाको भगवान्‌लाई विश्वास गर्दिनँ । इन्द्रेणीमा काम गर्दा नै मेरो स्वर, शरीर सबै सकियो । तँलाई उपचार गर्नुपर्छ कि भनेर कहिल्यै सोधिएन । लास्टमा परेको बोलामा मात्र बोलाउने र तलबमा नराख्ने भनेर हटाइयो । मानसिक टर्चर दिइयो ।

एक वर्ष अगाडि पनि यस्तै व्यवहार भएपछि म १५ दिनसम्म इन्द्रेणी नगई बसेकी थिएँ । त्यो थाहा पाएपछि मेरो आमाले भगवानको थलो छोडेर हिँड्ने ? तैंले के गरेर खान्छेस् भनेर मलाई गाली गर्नुभयो । घरबाट टर्चर भएपछि म आफैं गएँ । क्यामरा अन भएपछि मुसुक्क हाँसेर नाच्थेँ । तर, भित्र पीडा अर्कै थियो । संस्थाको इज्जत जान्छ भनेर हामीले बाहिर बोलेनौं । आखिर उहाँले नै हाम्रो रोजिरोटी टारिदिनुभएको थियो ।

म मेरी आमासित क्षमा माग्छु, तपाईंले भगवान् ठानेको मान्छेलाई मैले खप्न सकिनँ । उहाँको प्यारी हुन सकिनँ । किन भन्ने चाहीँ पछि भन्नेछु ।

कृष्ण कँडेलको सालो पर्ने लक्ष्मी घिमिरेले आफूहरूमाथि हातपात भएको बताए ।

उनले सुनाए, ‘कृष्ण कँडेलले राणाको जस्तो स्वभाव देखाउनुहुन्थ्यो । गत माघ ५ र ६ गते गते एउटा मिटिङ भनेर सबैलाई बोलाइयो । हामीलाई सीसी क्यामरा नभएको कोठामा राखियो । ८-१० जना डन पाराका मान्छेहरू राखेर दाइ पूर्ण कँडेल र मप्रति हातपात गरियो । उहाँ .(कृष्ण कँडेल) मेरो भिनाजु हो । कुशल कँडेल मेरो भाञ्जा हो । भाञ्जा र भिनाजुलाई लात्तै लात्तले हान्यो भनेर उहाँको श्रीमती, मेरो दिदी प्रतिमा कँडेलले गाउँभरि प्रचार गर्नुभएको छ । हेर्नुस् मेरो हातमा गाँठा पनि छन् ।’

पूर्ण कँडेलले पनि आफूहरूलाई बाध्यतामा पारेर हस्ताक्षर गर्न लगाइएको बताए । आफूमाथि गुण्डा लगाएर हातपात पनि गरिएको भन्दै उनले गालाको खत पनि देखाएका थिए ।

के भन्छन् कृष्ण कँडेल ?

कलाकारहरूले लगाएको आरोपका विषयमा बुझ्न नेपाल प्रेसले सम्पर्क गर्दा कँडेलले खासै बोल्न चाहेनन् । यो समाचार बनाउने विषय नै नभएको उनको टिप्पणी छ ।

‘केही बुझ्नु छ भने इन्द्रेणीमा नै आएर बुझ्नुस् । कोही फेसबुमा आएर रुँदैमा समाचार बनाउनुपर्ने जस्तो लाग्दैन,’ उनले भने ।

नेपाल प्रेसबाट साभार 

https://www.youtube.com/watch?v=eAEK4jX5kCY

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु