बढ्दो कोरोना र फ्लु, सतर्कता अपनाउन चिकित्सकको सुझाव

छिनोफानो   मङ्गलबार २०, चैत २०८० ११:०१

 मौसम परिवर्तनसँगै कोरोना फ्लु लगायतका श्वासप्रश्वाससम्बन्धी बिरामी बढ्दै गएका छन् ।  देशको एक मात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो केही हप्तादेखि यस्ता बिरामी बढ्दै गएको अस्पतालका ओपिडी इन्चार्ज शङ्कर पाण्डेले बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जनवरीदेखि विभिन्न नाकामा कोरोना परीक्षण गर्न सुरु गरेकाले कोरोना बढेकोजस्तो देखिएको जानकारी दिनुभयो । अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पछिल्लो केही सातादेखि अस्पतालमा खोकी लाग्ने, ज्वरो आउने, जिउ दुख्ने, स्वाद हराउनेजस्ता स्वास्थ्य समस्या लिएर बिरामी आउने गरेको जानकारी दिनुभयो । 

 अस्पतालमा आउने अधिकांश बिरामीमा जाँच गर्दा मौसमी फ्लु र कोरोना सङ्क्रमण पुष्टि भएको डा. पुन बताउनुहुन्छ । जाँच गरियो भने समाजमा फ्लु र कोरोना बिरामी पुष्टि हुने अनुमान डा. पुन गर्नुहुन्छ । 

सामान्य रुघाखोकी त होनि भनेर धेरैले हेलचेक्र्याइँ गर्दा कडा खालका निमोनिया देखिएर मानिसको मृत्यु हुने भएकाले हेलचेक्र्याइँ नगर्न चिकित्सकको सुझाव छ । उहाँ भन्नुहुन्छ, “कोभिड र एन्फ्लुएन्जालगायतका सरुवा रोगका अधिकांश लक्षण एउटै हुने भएकाले दुवै सङ्क्रमण एकै पटक देखिएमा गम्भीर समस्या निम्तन्छ ।” 

रुघा खोकी हेलचेक्र्याइँ नगरौँ 

डा. पुनले रुघाखोकीलाई सामान्य मानि हेलचेक्र्याइँ नगर्न उहाँले आग्रह गर्नुभयो । उहाँ भन्नुहुन्छ,“समाजमा फ्लु र कोरोनाको सङ्क्रमण एकै पटक फैलिएको छ । यसले जटिल स्वास्थ्य समस्या निम्त्याउन सक्छ त्यसले यसलाई हेलचेक्र्याइँ नगरौँ ।” 

विभिन्न अध्ययनहरुले पनि दुवै संक्रमण एकै पटक फैलदा जटिल स्वास्थ्य समस्या निम्ताउने देखाएको छ । युवाले रुघाखोकीलाई हेलचेक्र्याइँ गर्दा दीर्घरोगी, ज्येष्ठ नागरिक बालबालिका धेरै प्रभावित बन्दैगएको उहाँको ठहर छ । 

रुघाखोकी ज्वरो आउने, शरीर दुख्ने, स्वाद हराउँदै जानेजस्ता लक्षण देखिएमा सकेसम्म छुट्टै बस्ने र जनस्वास्थ्यका मापदण्ड पालन गर्न डा. पुनको सुझाव छ । फ्लु र कोरोनाको लक्षण उस्तै हुने हुँदा पहिचान गर्न प्रयोगशालामा जाँच गरेर नै हेर्न आवश्यक भएको उहाँको तर्क छ ।  

१० कोरोनाका बिरामी भर्ना 

डा. पुनका अनुसार मार्च महिना सुरु भएदेखि अस्पतालमा १० जना कोरोनाका बिरामी  आइसियुमा भर्ना भएका थिए ।  भर्ना भएका अधिकांश बिरामी ज्येष्ठ नागरिक र दमलगायतका दीर्घरोगी भएको उहाँको भनाइ छ । उहाँका अनुसार धेरै बिरामी उपचारपछि निको भएर घर फर्किए पनि अझै पनि दुई जना कोरोना सङ्क्रमितको आइसियुमा उपचाररत छन्  । 

 कोरोना पुष्टि भएका बिरामीमा पुरानै भेरिएन्ट होकि नयाँ भेरिएन्ट हो भने एकिन भैनसकेको उहाँको भनाइ छ ।  उहाँ भन्नुहुन्छ, “कोरोना पुष्टि भएकाहरु अधिकांश ज्येष्ठ नागरिक दीर्घरोगी छन् । उहाँहरुमा कोेरोनाको पुरानै भेरिएन्ट पुष्टि भएको हो की नयाँ भन्ने पत्ता लागेको छैन् ।”

फ्लु कसरी पत्ता लगाउने ?

डा. पुनका अनुसार इन्फ्लुएन्जा–फ्लुलाई बोलीचालीको भाषामा फ्लु भनिन्छ । यो इन्फ्लुएन्जा भाइरसका कारणले लाग्ने सङ्क्रामक रोग हो । उहाँका अनुसार फ्लुको टाइप ‘ए’ ‘बि’ ‘सी’ ‘डी’ हुन्छन् । अहिले नेपालमा हङ्कङ फ्लु, स्वाइनफ्लु बढी सक्रिय रहेको डा. पुनको भनाइ छ ।

कोभिड–१९ कोरोना भाइरसको कारणले गर्दा लाग्ने गर्छ । डा. पुनका अनुसार दुवै भाइरस श्वाप्रश्वासको माध्यमबाट सर्ने रोग हो । यो भाइरस सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ ।  दुवै भाइरसले ज्वरो आउनु खोकी लाग्नु, घाँटी दुख्नु, टाउको दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु, शरीर र मांसपेशी दुख्नु, थकान महसुस हुनेजस्ता लक्षण देखाउने डा. पुन बताउनुहुन्छ ।  

रोकथाम कसरी ?

बिरामी भएका व्यक्तिहरूसँग भौतिक दूरी राख्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, शारीरिक रूपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौष्टिक खानेकुरा खाने । सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्न डा. पुनको सुझाव छ । लक्षण देखिनासाथ जथाभावी औषधीको प्रयोग नगर्न उहाँको आग्रह छ ।  

रोग फैलन नदिन के गर्ने ?

रोग फैलन नदिन बेलाबेलामा साबुनपानीले हात धुने, हातले आँखा, नाक वा मुख नछुने, भिडभाडमा जाँदा माक्स लगाउन डा. पुनको सुझाव छ । रोग प्रतिरोधात्मक क्षमता कम भएकामा दुवै भाइरस एकै पटक भएमा जटिल बनाउने भएकाले त्यस्ता व्यक्ति स्वास्थ्यकर्मीको निगरानी वा सम्पर्कमा रहन चिकित्सकको सुझाव छ । दीर्घरोगी र वृद्धवृद्धामा इन्फ्लुएन्जा सङ्क्रमणको जोखिम बढी हुने भएकाले इन्फ्लुएन्जा सङ्क्रमणविरुद्धको र कोराेना विरुद्धका खोप लगाउन चिकित्सकको सुझाव छ ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु