एरिका अमेरिकामा नौ लाख नगदसहित सम्मानित

छिनोफानो   सोमबार २६, चैत २०८० १०:४५

नेपालकी कराते स्टार एरिका गुरुङ अमेरिकामा नौ लाख रुपियाँ भन्दा बढि नगद पुरस्कारबाट सम्मानित हुनुभएको छ । 

चीनमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा रजत पदक विजेता एरिकालाई च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएले आयोजना गरेको कार्यक्रममा नौ लाख ३२ हजार चार सय ६३ रुपियाँ (सात हजार ११ अमेरिकी डलर) सहित सम्मान गरिएको हो । 

एरिका हाल युएसए ओपन कराते च्याम्पियनसिप खेल्न अमेरिका जानुभएको थियो । एरिकाले युएसए ओपन करातेमा १८ देखि २१ वर्षको ६८ केजी तौल समूहमा स्वर्ण र सोही तौलको सिनियर खुलामा रजत पदक जित्नुभएको थियो । 

एरिकालाई ११औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामाले स्थापना गर्नुभएको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा भएको कार्यक्रमबिच नगदसहित सम्मान पत्रबाट सम्मान गरिएको हो । 

एरिकाको सम्मानका लागि तमु परिवारले दुई हजार सात सय ५६, तमु सोसाईटीले नौ सय ५३, सुदूरपश्चिम समाजले पाँच सय ५०, इन्टरनेशनल मार्सल आर्ट्स एसोसियसन न्युयोर्कले एक सय ९०, मामा भान्जा ग्रुपले एक हजार १०, रेड पाण्डाले दुई सय अमेरिकी डलर तथा बाँकी रकम च्याम्पियन मार्सल आर्ट्स, खेलाडी, समाजसेवी तथा अन्य सहोगीबाट प्राप्त रकमबाट सम्मान गरिएको च्याम्पियन मार्सल आर्ट्स क्लबका लामाले जानकारी दिनुभयो । 

सो अवसरमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष एवं आठौँ र नवौँ सागका स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, १०औँ सागमा स्वर्ण विजेता एवं प्रशिक्षक कुशल श्रेष्ठ, १३औं सागका स्वर्ण पदक विजेता अनु अधिकारी र विप्लवलाल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो। 

अनु अमेरिकामा बस्दै आउनुभएको छ भने एरिका, विप्लव, दीपक र कुशल युएसए ओपनमा भाग लिन अमेरिका पुग्नुभएको हो । एरिका लगायतलाई क्लबका लामा, १३औँ एसियाडका कांस्य पदक विजेता सम्बरबहादुर गोलेलगायतले सम्मान गर्नुभएको थियो । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु