काठ चोरीको आरोपमा प्रहरी चौकी घेराउ, इन्चार्ज माथि कारवाही

छिनोफानो   सोमबार ०३, बैशाख २०८१ ०१:४५

रौतहट । चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा रहेको अस्थायी प्रहरी चौकीका इन्चार्जले काठ चोरी गरेको भन्दै सोमबार बिहान स्थानीयले चौकी घेराउ गरेपछि इन्चार्ज माथि कारवाही हुने भएको छ । सोही स्थान कै कृषि सहकारी साझा संस्थाको भवनमा सञ्चालन हुँदै आएको अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक दिनानाथप्रसाद यादव संस्था कै काठ चोरीको आरोपमा कारवाहीमा पर्ने भएका हुन्  

काठले बनेको साझा संस्था पक्की भवनमा परिणत भएपछि संस्थाले प्रहरी चौकी परिसरमै सुरक्षितसँग राखेको काठ चौकीका इन्चार्ज यादवले विभिन्न किसिमका फर्निचर बनाई आफ्नो घरमा पठाउनेगरेको स्थानीय काठमिस्त्रीबाट जानकारी पाएपछि सन्तपुरबासीले चौकी घेराउ गरेका हुन् ।वडा अध्यक्ष जितेन्द्र चौधरीले संस्थाको केही परिमाणका काठ इन्चार्ज यादव बस्ने कोठामा समेत भेटिएको बताउनुभयो ।

उहाँकाअनुसार चोरीएको काठको क्षतिपूर्ति र इन्चार्ज यादवलाई कारवाहीको माग राख्दै चौकी घेराउ गरिएको वडा अध्यक्ष जितेन्द्र चौधरीले बताउनुभयो ।घटनापश्चात लगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खट्नु भएको प्रहरी निरीक्षक गायत्रीराज शर्माले स्थानीयसँग लामो छलफल गरी चौकीका इन्चार्ज यादव उपर अनुसन्धान गरिने र दोषी ठहरिएमा विभागीय कारवाही गरिने आश्वस्त पार्नु भयो ।

यता संस्थाका अध्यक्ष तथा पूर्व नगरपालिका प्रमुख रामचन्द्र चौधरीले संस्थाको काठ मात्र नभई इन्चार्ज यादवले चोरी निकासीको अवैध काठ समेत बरामद गरी निजी उपयोग गरेको आरोप लगाउनुभयो ।

गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु