कतारी अमिर पहिलो पटक नेपालको राजकीय भ्रमण गर्दै

छिनोफानो   मङ्गलबार ११, बैशाख २०८१ १०:३९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । दुई दिने भ्रमणका क्रममा उहाँ आज अपराह्न काठमाडौँ आइपुग्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।उनको सवारीको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

राष्ट्रपतिको कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई स्वागत गर्न स्वयं राष्ट्रपति पौडेल जानुहुने भएको छ ।उनको सवारीको दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुनेछ । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उहाँको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताईएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ ।मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो ।भ्रमणको दोस्रो दिन अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ । वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । त्यस्तै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।भ्रमणका क्रममा नेपालको राष्ट्रिय समाचार समिति ९रासस० र कतारको ‘कतार न्यूज एजेन्सी’बीच समाचार आदाप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ ।

यो भ्रमणबाट कतार र नेपालबीचको आत्मिय सम्बन्ध अझ सुमधुर हुनाका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताएका छन् ।उनी बुधबार स्वदेश फर्किनेछन् । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु