होटलमा एक महिलाको शव फेला, एक जना पक्राउ

छिनोफानो   सोमबार २४, बैशाख २०८१ ०२:२०

काठमाडौं । शुक्रबार गोंगबुस्थित एक होटलमा झुण्डिएको अवस्थामा एक जना युवतीको शव फेला परेको छ ।  मोरङको लेटाङ नगरपालिका-२ घर भइ हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव भेटिएको हो ।

होटलमा झुण्डिएको अवस्थामा शव भेटिएको भन्दै खबर आएपछि उद्धार गरेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौं ले बताए ।तर, चिकित्सकहरुले मृत्यु भइसकेको घोषणा गरेका थिए । प्रहरीका अनुसार, भण्डारी चन्द्रागिरि नगरपालिका-१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन् ।

प्रहरीसमक्ष कार्कीले दिएको बयानअनुसार, लामो समयसम्म ढोका नखोलेपछि कार्कीले होटलका अन्य व्यक्तिलाई बोलाएका थिए । त्यसक्रममा ढोका फुटाएर हेर्दा झुण्डिएको अवस्थामा फेला पारेपछि उनले पासो निकालेका थिए । त्यसपछि पुगेको प्रहरीले उनलाई अस्पताल लगेको थियो ।

काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार, भण्डारीको परिवारलाई पनि तत्कालै खबर गरिएको थियो । परिवारले अहिले कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको छ ।

भण्डारीको दायाँ आँखा सुन्निएको जस्तो देखिएको छ भने शरीरका अन्य भागमा पनि झगडा भएजस्तो देखिने चोट रहेको प्रहरी स्रोत बताउँछ । घटनास्थलमा सुसाइड नोट वा अन्य कुनै संकेत फेला परेको छैन । भण्डारीका श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशमा छन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु