सहकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको हो : गृहमन्त्री लामिछाने

छिनोफानो   शनिबार २९, बैशाख २०८१ ०२:४५

काठमाण्डौ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप लगाउनुभएको छ । चितवनमा आज बिहान पत्रकारसँगको कुराकानीमा उहाँले भगाएको मानिस खोज्न समय लाग्ने प्रतिक्रिया दिनुभयो ।

राईलाई कसले भगाएको हो ? भन्ने प्रश्नमा लामिछानेले  ‘भाग्दाखेरी सरकारमा को थियो ? भनेर प्रतिप्रश्न गर्नुभएको छ । उहाँले राईलाई पक्राउ गर्न आवश्यक केही प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता भएकोले समय लागेको बताउनुभएको छ । राई बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी र पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका छन् । उनी मलेसियामा रहेको भनिएको छ ।

मलेसियाका गृहमन्त्रीसँग आफ्नो कुरा भएको मन्त्री लामिछानेको दाबी छ । मलेसियासँग सुपुर्दगी सन्धी नभएकाले पक्राउ गर्न र स्वदेश ल्याउन कठिन भएको उहाँले बताउनुभएको छ ।

गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले संसदमा बोल्ने आफ्नो अधिकारको हनन् भएको टिप्पणी पनि गर्नुभएको छ । उहाँले भन्नुभयो,‘छानबिन समिति बनाए हुन्छ तर संसद्मा बोल्न पाउनुपर्छ ।’ आफूमाथि लागेको आरोप प्रमाणित गर्न पनि उहाँको चुनौती छ ।

गृहमन्त्री लामिछाने समेत जोडिएको भनिएको सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति नबनाएसम्म संसदको अवरोध कायमै राख्ने प्रमुख प्रतिपक्ष दल कांग्रेसले अडान राख्दै आएको छ । संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नहुँदा हिजोदेखि शुरु भएको संघीय संसद्को बजेट अधिवेशन पहिलो दिन प्रभावित भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु