शुक्लाफाँटाका महिलालाई आत्मनिर्भर बनाउन १५ दिने होजियारी तालिम

रासस   सोमबार २१, जेठ २०८१ १०:५३

कञ्चनपुर । महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आजदेखि १५ दिने हाते होजियारी तालिम सञ्चालन गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा महिला तथा बालबालिका संरक्षण सञ्जालले सञ्चालन गरेको तालिममा उनको धागोबाट स्वेटर, गलबन्दी, टोपी, मोजा, पञ्जालगायत सामग्री बुन्न सिकाइने सञ्जालका अध्यक्ष मधु बोहराले जानकारी दिए । 

तालिमको शुभारम्भ गर्दै नगरप्रमुख रणबहादुर महराले महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएकाले त्यसबाट बढिभन्दा बढी लाभ लिन सहभागीलाई आग्रह गरे । उनले नगर क्षेत्रका महिलालाई सक्षम र स्वरोजगार बनाउने नीतिअनुसार पालिकाले तालिमको आयोजना र आवश्यक सहयोग गर्दै आएको बताए ।  कार्यक्रममा नगर उपप्रमुख कल्पना पन्तले गृहिणीहरूले अब चुलोचौको र मेलापातमा अल्झिन नहुने बताए । 

उनले फुर्सदको समयलाई सदुपयोग गर्दै आयआर्जनमा लाग्न आग्रह गरे । “अहिले पनि सामान्य आवश्यकता पूर्तिका लागि पुरुष वा श्रीमानकै भर पर्नु राम्रो होइन । घरमै बसेर पनि केही गर्न सकिन्छ । त्यसैले तपाईँहरूलाई केही सहयोग पुगोस् भनेर तालिम आयोजना गरिएका हो, यसबाट दत्तचित्त भएर सीप सिक्नुहोला । व्यवसाय सुरु गर्न पनि हामीले सहयोग गर्नेछौँ”, उपप्रमुख पन्तले भन्नुभयो । तालिममा नगरपालिकाका १२ वडाको प्रतिनिधित्व हुनेगरी १२ जना महिलाको सहभागिता रहेको छ । रासस ​facebook sharing button

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु