साँफेबगर नगरपालिकाले इन्धनमा गर्‍यो १ करोड खर्च

छिनोफानो   शनिबार ०१, असार २०८१ ०१:३२

पवन भण्डारी, धनगढी । सिसिटिभी क्यामरा खरिद र बिद्युत्  बिस्तारमा कागजी उपभोक्ता समिती  बनाएर भुक्तानी दिएको भन्दै विवादित बनेको अछामको साँफेबगर नगरपालिकाले इन्धनमा समेत मनोमानी खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा साँफेबगर नगरपालिकाले इन्धनमा झन्डै एक करोड खर्च गरेको पाइएको हो ।

पालिकाले इन्धनमा मनोमानी खर्च गरेको भेटिएपछि महालेखाले प्रश्न समेत उठाएको छ । गत आर्थिक वर्ष २०७९र ८० मा यस पालिकाले ८८ लाख ६२ हजार ७९० रुपैयाँ इन्धनमा मात्रै खर्च गरेको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख रहेको छ ।

सो नगरपालिकाले इन्धन पदाधिकारी शीर्षकबाट एक लाख एक हजार ४५५ रुपैयाँ, इन्धन कार्यालय प्रयोजन शीर्षकबाट ८७ लाख ६१ हजार ३३५ रुपैयाँ गरी जम्मा ८८ लाख ६२ हजार ७९० रुपैयाँ खर्च गरेको हो ।प्रयोगकर्ता, प्रयोजन र भ्रमण किलोमिटर जस्ता ब्यहोरा स्पष्ट खुलाई इन्धन उपलब्ध गराउनु पर्नेमा सो बेगर तथा लगबुक तयार नगरी इन्धन खर्च गरेको पाइएको महालेखाको वार्षिक प्रतिवेदनमा भनिएको छ ।

‘पालिकाले यस्तो कार्यमा सुधार गरी ऐन, नियम बमोजिम इन्धनको प्रयोग गर्ने तथा सोही बमोजिम लगबुक व्यवस्थित गरी राख्ने तथा खर्च गर्दा मितव्ययीरुपमा गर्ने प्रबन्ध मिलाउनु पर्दछ,’ प्रतिवेदनमा उल्लेख रहेको छ । 

हिजो प्रकाशित यहि समाचारमा एक बर्षमा दुई बर्ष भएकोमा समाचार सच्याईएको छ । सम्पादक

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु