काठमाण्डौ – बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री केन्द्रबिन्दू भएर अस्ति शनिवार बिहान गएको भूकम्पले क्षति भएका घरहरुको यकिन विवरण सङ्कलनमा अलमल भएको छ ।
प्रहरीले सङ्कलन गरेको विवरणअनुसार १५ वटा घर पूर्ण रुपमा भत्किएको छ भने अरु केही घरमा सामान्य क्षति भएको छ । प्रहरीले टिपाएको विवरणअनुसार प्रभावित परिवारको लागि हिजो ५९–५९ थान त्रिपाल र कम्बल पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
पालिकाबाट माग भएअनुसारकै राहत सामग्री पठाइएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले उज्यालोलाई जानकारी दिनुभयो । तर भूकम्प प्रभावित क्षेत्रका धेरै परिवारले खुला आकाशमुनी रात काट्नु परेको गुनासो गरेका छन् ।
भूकम्पले घर पुरै नभत्काए पनि कतिपय घर चर्किएको कारण प्रभावितहरु घरबाहिरै बसेका छन् । बस्नै नमिल्ने घरको सङ्ख्या कति छ भनेर विवरण सङ्कलन गर्ने काम भइरहेको जगन्नाथ गाउँपालिका ५ का वडाध्यक्ष गौरी सार्कीले उज्यालोलाई जानकारी दिनुभयो ।
आज गाउँपालिकाको विपद् समितिको बैठक बसेर यकिन विवरण सङ्कलन गर्ने उहाँको भनाइ छ । पालिकाले यकिन विवरण सङ्कलन गरेर पठाएपछि त्यसैअनुसार राहत सामग्री पठाइने प्रमुख जिल्ला अधिकारी पाध्याले बताउनुभयो ।
प्रतिकृया दिनुहोस