एसईई नतिजामा ९१ ल्याउनेलाई १९ अंक

छिनोफानो   आइतबार १३, साउन २०८१ ०३:३३

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजामा लापरबाही गर्दा विद्यार्थीको प्राप्तांक नै फरक परेको पाइएको छ । पुनर्योगका लागि आवेदन दिएका ५ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा फरक परेको छ । कुनै विषयमा ९१ नम्बर ल्याएको विद्यार्थीलाई नम्बर चढाउने बेला १९ मात्रै दिइएको छ ।

एसईई नतिजामा ९१ ल्याउनेलाई १९ अंक

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार गत असारमा प्रकाशित नतिजामा चित्त नबुझेको भन्दै १८ हजार ६ सय विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए । तीमध्ये साढे ११ हजार विद्यार्थीको पुनर्योग गर्दा ६ सय २१ जनाको नतिजा परिवर्तन भएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ ।

‘प्राप्तांक कम्प्युटरमा चढाउँदा ७१ ल्याएका विद्यार्थीलाई १७, ६९ ल्याएकालाई ०९ दिएको जस्ता त्रुटि देखिएका छन्,’ परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भने । नन–ग्रेडेड ९एनजी० मा परेपछि पुनर्योग गराउँदा ५ विद्यार्थीले ४ मा ४ जीपीए ल्याएका छन् । काठमाडौंको विश्वनिकेतन माविकै एक छात्रले पुनर्योग गर्दा ४ जीपीए ल्याएका छन् । त्योसँगै विश्वनिकेतनबाट एसईईमा ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ५ पुगेको छ ।

बोर्ड अध्यक्ष शर्माले उत्तरपुस्तिका परीक्षणपछि नम्बर जोड्दा, उत्तरपुस्तिकाभित्रबाट बाहिर कभरमा नम्बर लेख्दा, मार्कस्लिप र कम्प्युटरमा चढाउँदा अंक फरक परेको पाइएको उनले बताए । ‘उत्तरपुस्तिका परीक्षणदेखि नतिजा प्रकाशनमा संवेदनशील नहुँदा यस्ता त्रुटि हुन पुगेका हुन्,’ उनले भने, ‘त्रुटि हुन सक्छ भनेरै बोर्डले पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने र पुनः परीक्षण गर्न पाउने व्यवस्था गरेको हो ।’ सरोकारवालाले भने लापरबाही गर्नेलाई कारबाही हुनुपर्ने बताउँदै आएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सांसदहरूले समेत नतिजामा त्रुटि भएको विषय उठाएका थिए । शिक्षामन्त्री विद्या भट्टराईले कसका कारणले त्रुटि भएको हो भन्ने पत्ता लगाउन परीक्षा बोर्डलाई निर्देशन दिएको बताइन् । त्रुटि पहिचान भएपछि कारबाही गर्नुपर्ने विषय हो वा होइन भनेर निर्क्योल गरिने उनको भनाइ छ ।

‘नतिजा सुधार गर्न गुणस्तरीय शिक्षक आवश्यक’


एसईईको नतिजा सुधारका लागि विद्यालयमा गुणस्तरीय शिक्षकको आवश्यकता रहेको विज्ञहरूले औंल्याएका छन् । सामुदायिक विद्यालयहरूमा शिक्षक दरबन्दी नभएको र भएको दरबन्दीमा पनि पदपूर्ति नभएको कारण सिकाइ कमजोर बन्न पुगेको उनीहरूको भनाइ छ ।

नीति अनुसन्धान प्रतिष्ठानले गत साता गरेको छलफलमा विद्यार्थी कमजोर रहेका गणित, अंग्रेजी र विज्ञानमा नै विषय शिक्षक अभाव रहेको सरोकारवालाले औंल्याए । यसपालिको एसईईको नतिजामा गणित, अंग्रेजी र विज्ञान विषयमा फेल हुने विद्यार्थीको संख्या एक लाखभन्दा बढी छ । कुल ४ लाख ४६ हजार परीक्षार्थीमध्ये २ लाख २२ हजार ९४८ प्रतिशत० मात्रै यस पटक एसईईमा उत्तीर्ण भए । १ लाख १५ हजार विद्यार्थी दुई र १ लाख २६ हजार विद्यार्थी दुईभन्दा बढी विषयमा अनुत्तीर्ण भए ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले माध्यमिक तहमा शिक्षक दरबन्दी अपुग रहेकाले निजी स्रोत र प्राथमिक तहका शिक्षकले पठनपाठन गराउनुपर्ने अवस्था रहेको बताए । ‘शिक्षककै क्षमता अब्बल नहुँदा सिकाइ कमजोर हुन्छ र नतिजा सन्तोषजनक प्राप्त हुँदैन,’ उनले भने । शिक्षक सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले गणित, विज्ञान र अंग्रेजी विषयमा अब्बल शिक्षकहरू सिफारिस गर्न नसकिएको बताए । ‘आयोगले खोजेजस्तो शिक्षक पदपूर्ति गर्न सकेको छैन । शिक्षक पेसामा आकर्षण पनि देखिएको छैन,’ उनले भने, ‘मावि शिक्षकमा सिफारिस भएको व्यक्ति निजामतीतर्फ खरिदारमा नियुक्त हुँदा खुसी हुने अवस्था छ ।’ शिक्षण पेसालाई आकर्षक नबनाएसम्म गुणस्तर सुधार हुन मुस्किल हुने रेग्मीको भनाइ छ ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले शिक्षक अभाव रहेको र भएका शिक्षकलाई पनि तालिम नहुँदा पठनपाठन राम्रो हुन नसकेको औंल्याए । खुला विश्वविद्यालयका सामाजिक अध्ययन तथा शिक्षाशास्त्र संकायका डिन खगेन्द्र प्रसाईले शिक्षामा लगानी कम हुँदाको प्रतिफल एसईईको नतिजामा देखिएको टिप्पणी गरे । ‘राम्रा शिक्षक भए राम्रो नतिजा आउँछ । राज्यको ध्यान शिक्षक माथिको लगानी बढाउनेभन्दा पनि आकर्षक विद्यालय भवन बनाउनतर्फ बढी देखिएको छ,’ उनले भने ।

प्याब्सनका अध्यक्ष डीके ढुंगानाले पठनपाठन, प्रश्नपत्र, परीक्षा, मूल्यांकन, नतिजा प्रकाशनलगायत समग्र प्रणालीमा नै सुधार आवश्यक रहेको जनाए । शिक्षकलाई सम्मानसहित सेवासुविधा दिए शिक्षण पेसामा आकर्षण बढ्ने र विद्यार्थीको नतिजामा सुधार आउने उनको भनाइ छ ।

शिक्षाविद् वासुदेव काफ्लेले शिक्षकमा लगानी वृद्धि गरेर मनोबल उकास्नुपर्ने बताए । ‘दक्ष शिक्षक मात्रै कक्षाकोठामा पुग्नुपर्छ,’ उनले भने, ‘शिक्षक छनोट प्रक्रियामा नै पुनर्विचार गर्न आवश्यक छ ।’ शिक्षकलाई राजनीतिक दलका विस्तारित अंग बनाएसम्म नतिजा सधैं यस्तै प्रकृतिको आउने उनले दाबी गरे । नीति प्रतिष्ठानका कार्यकारी अध्यक्ष लेखनाथ शर्माले एसईईको परीक्षाको नतिजामा सुधार गर्ने उपाय सरकारलाई सिफारिस गरिने बताए ।

एसईईको ९० वर्षे इतिहासमा हरेक साल १६ देखि ७७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डको तथ्यांकमा छ । औसतमा ४३ प्रतिशत विद्यार्थी मात्रै परीक्षामा सफल हुने गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु