भोकमरी रहेको हुम्लाको लिमी क्षेत्रमा सरकारले सोमबारदेखि बिहान खाद्यान्न पुर्याउने भएको छ । त्यसका लागि सेनाको हेलिकोप्टर आइतबार साँझ ४ बजे हुम्ला सदरमुकाम सिमकोट पुगेको छ ।
सिमकोटबाट ११ क्विन्टल चालम लगेर हेलिकोप्टर बिहान साढे ६ बजे लिमी क्षेत्र पुग्नेछ । सिमकोटबाट लिमी पुग्न करिब आधा घन्टाको हवाई दूरी छ । हुम्लाका सिडिओ गणेश आचार्यले सदरमुकामस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा रहेको चामल लिमी क्षेत्रमा पठाउन लागेको बताए । ‘सिमकोटबाट हेलिकोप्टर खाली पठाउनुभन्दा लिमी क्षेत्रमा ११ क्विन्टल चामल बोकाएर पठाउन लागिएको हो,’ उनले भने, ‘लिमीमा चामल खसालेपछि हेलिकोप्टर हिल्सा जानेछ ।’
चीनले नाम्खा गाउँपालिकालाई अनुदानमा उपलब्ध गराएको चार हजार ६ सय ८० बोरा मैदा र आठ सय बोरा चामल हिल्सामा थन्किएको छ । त्यसमध्ये एक हजार आठ सय ४६ बोरा मैदा र २० बोरा चामल लिमी क्षेत्रका तिल, जाङ र हल्जी गाउँमा पठाउने निर्णय गाउँपालिकाले गरेको छ । यो खाद्यान्न हेलिकोप्टरले लिमी क्षेत्रमा ढुवानी गर्नेछ ।
लिमी क्षेत्रमा खाद्यान्न पुर्याउन झण्डै तीन दिन लाग्ने सिडिओ आचार्यले बताए । ‘हिल्सादेखि लिमी क्षेत्रको हवाई दूरी १० मिनेटको हो । तर, हिमपातका कारण हेलिप्याडसमेत राम्रो नभएकाले एकपटकमा बढीमा १५ क्विन्टल मात्रै ढुवानी हुन्छ । त्यसैले हेलिकोप्टरले धेरैपटक ओसार्नुपर्ने भएको हो,’ आचार्यले भने । गृह मन्त्रालयको पहलपछि आइतबार दिउँसो सेनाको हेलिकोप्टर हुम्लाका लागि उडेको हो ।
काठमाडौंबाट उडेको हेलिकोप्टर सुर्खेतमा अवतरण गरेको थियो । त्यहाँबाट २४ सय लिटर हवाई इन्धन बोकेर साँझ ४ बजेतिर सिमकोट अवतरण गरेको थियो । सोमबार बिहानै लिमी हुँदै हिल्सा पुग्ने हेलिकोप्टरले तेल समेत बोकेर जानेछ । हिल्सा–लिमी क्षेत्रमा खाद्यान्न ढुवानी गर्दा तेल सकिए पुनः सिमकोट आएर भर्नेछ । अहिले लगेको तेल अपुग हुने भए पुनः सुर्खेत आएर लैजाने कार्यतालिका रहेको सिडिओ आचार्यले बताए ।
सिडिओ आचार्यका अनुसार सिमकोटबाट पनि ३७ क्विन्टल चामल पनि लिमी क्षेत्रमा पु¥याइनेछ । ‘हिल्साबाट मैदा धेरै जाने हो, हिल्सामा धेरै चामल छैन,’ उनले भने, ‘त्यसैले सिमकोटबाट पनि चामल पठाउँछौँ । तेल भर्नका लागि हेलिकोप्टर आउँदैपिच्छे चामल हालेर लिमी क्षेत्रमा पठाउने योजनामा छौँ ।’
नाम्खा गाउँपालिका– ६ का वडाध्यक्ष पाल्जोर तामाङले एक साताको प्रयासपछि खाद्यान्न ढुवानी गर्न हेलिकोप्टर पठाएकोमा खुसी व्यक्त गरे । ‘केही ढिला गरी हेलिकोप्टर आए पनि अब लिमीका बासिन्दाले खाद्यान्न पाउने टुंगो भएको छ,’ उनले भने । उनी गत सोमबार संघीय सांसद छक्कबहादुर लामासँगै काठमाडौं आएका थिए । उनीहरूले खाद्यान्न ढुवानीको पहल गर्न अर्थ र गृह मन्त्रालयका अधिकारीलाई भेटेर आग्रह गरेका थिए ।
हेलिकोप्टरमा खाद्यान्न लोड गर्न यसअघि नै लिमीका स्थानीय हिल्सा पुगिसकेका छन् । ‘हेलिकोप्टरमा खाद्यान्न लोड गर्न हिल्सामा साथीहरू तयारी अवस्थामा हुनुहुन्छ । म पनि हेलिकोप्टरमा सामान लोड गर्न सघाउँछु । हेलिकोप्टर आएको खबरले लिमी क्षेत्रका सबै बासिन्दा खुसी भएका छन्,’ वडाध्यक्ष तामाङले भने ।
टेन्डर गरेको चामल हुम्लामा ढुवानी गर्न खाद्यलाई बाटो खुल्यो
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई टेन्डर प्रक्रियाबाट छनोट भएको कम्पनीबाट हुम्लामा खाद्यान्न ढुवानी गर्न बाटो खुलेको छ । महँगो दररेट कबुल गर्ने सिम्रिका कार्गोलाई ढुवानी अनुमति दिने खाद्यको निर्णयविरुद्ध टेन्डर प्रक्रियामा सामेल भएको समिट एयरले उच्च अदालत पाटनमा मुद्दा हालेको थियो । त्यसमा सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश दिन इन्कार गरेको छ ।
अब खाद्यलाई टेन्डर प्रक्रियाबाट छनोट भएको सिम्रिका कार्गोबाट खाद्यान्न ढुवानी गर्न सहज भएको छ । सिम्रिका कार्गोले सुर्खेतबाट ६ हजार र नेपालगन्जबाट चार हजार क्विन्टल चामल हुम्लाको सिमकोटसम्म ढुवानी गर्ने गरी छनोट भएको थियो । खाद्य कम्पनीको प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले ढुवानी कार्यविधिअनुसार महँगो दररेट पेस गरे पनि सिम्रिकाको प्रस्ताव सारभूत रूपमा प्रभावग्राही भएकाले छनोट गरिएको बताइन् । नयाँ पत्रिका दैनिकबाट
प्रतिकृया दिनुहोस