यी पाँच खेलाडी जसले भारतलाई तेस्रोपटक विश्व च्याम्पियन बनाए

छिनोफानो   सोमबार २५, फागुन २०८२ ०२:२१

काठमाडौं। आईसीसी टी–२० विश्वकपको उपाधि भारतले जित्यो। आइतबार राति भएको फाइनलमा भारतले न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्‍यो।

यो उपाधि जित्न सबै खेलाडीहरूको योगदान महत्वपूर्ण रहे पनि केही खेलाडीहरूले कठिन परिस्थितिमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई तेस्रोपटक विश्व च्याम्पियन बनाउन ठूलो भूमिका खेले।

भारतलाई विश्व च्याम्पियन बनाउने ५ खेलाडी

१. सञ्जु सामसन– ठूला खेलमा अर्धशतक

भारतका विकेटकिपर–ब्याटर सञ्जु सामसन टोलीका लागि ‘ट्रम्प कार्ड’ सावित भए। उनले लगातार ३ खेलमा अर्धशतक प्रहार गरे।

लिग चरणमा प्लेइङ–११ मा स्थानका लागि संघर्ष गरिरहेका सामसनले वेस्ट इन्डिज विरुद्ध कोलकातामा मौका पाए। चुनौतीपूर्ण पिचमा उनले नटआउट ९७ रन बनाएर टोलीलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्‍याए।

त्यसपछि सेमिफाइनलमा इङ्ल्यान्डविरुद्ध र फाइनलमा न्युजिल्यान्ड विरुद्ध ८९–८९ रन बनाए। उनी प्रतियोगितामा भारतका सबैभन्दा धेरै रन बनाउने खेलाडी बने र प्लेयर अफ द टूर्नामेन्ट घोषित भए।

२. जसप्रित बुमराह – प्रतियोगिताका शीर्ष विकेट टेकर

जसप्रित बुमराह फाइनलका ‘प्लेयर अफ द म्याच’ बने। न्युजिल्यान्डविरुद्ध उनले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिए।

समग्र प्रतियोगितामा उनले ८ खेलमा १४ विकेट लिएर शीर्ष विकेट टेकर बने।

सेमिफाइनलमा इङ्ल्यान्डविरुद्ध उनको सटिक बलिङले भारतलाई जित दिलायो। २५४ रनको लक्ष्य पछ्याइरहेको इङ्ल्यान्डले १५ ओभरमा ५ विकेटमा १८५ रन बनाइसकेको थियो। त्यसपछि कप्तान सूर्यकुमार यादव ले बुमराहलाई बलिङमा ल्याए। उनले दुई ओभरमा १४ रन मात्र दिएर दबाब सिर्जना गरे र भारतले ७ रनले खेल जित्यो।

३. ईशान किशन– तीन अर्धशतक

प्रतियोगिता सुरु हुनुअघि अन्तिम समयमा टोलीमा समावेश भएका ओपनर ईशान किशनले प्रतियोगितामा ३ अर्धशतक बनाए।

फाइनलमा उनले २१ बलमा ५२ रन बनाए, जसमा उनको स्ट्राइक रेट २४७.६१ थियो। उनले सञ्जुसँग मिलेर ४८ बलमा १०५ रनको साझेदारी गरे।

यसअघि पाकिस्तानविरुद्ध उनले ७७ रन बनाउँदै तिलक वर्मासँग दोस्रो विकेटका लागि ८८ रनको साझेदारी गरेका थिए।

ईशानले नामिबियाविरुद्ध पनि अर्धशतक बनाए। उनले ९ खेलमा १९३.२९ को स्ट्राइक रेटमा ३१७ रन बनाए र भारतका दोस्रो शीर्ष स्कोरर बने।

४. हार्दिक पाण्ड्या– अलराउन्ड प्रदर्शन

हार्दिक पाण्ड्याले ब्याट र बल दुवैबाट महत्वपूर्ण योगदान दिए। उनले ९ खेलमा २१७ रन बनाए, जसमा एक अर्धशतक पनि थियो। उनको स्ट्राइक रेट १६०.७४ रह्यो।

यससँगै उनले ९ विकेट पनि लिए।

इङ्ल्यान्डविरुद्ध सेमिफाइनलमा उनले १२ बलमा २७ रन बनाएर भारतको स्कोर २५० पार पुर्‍याए। बलिङतर्फ उनले पहिलो बलमै फिल साल्टलाई आउट गरे र १९औँ ओभरमा मात्र ९ रन दिएर टोलीलाई जित दिलाए।

५. शिवम दुबे- फाइनलमा विस्फोटक इनिङ

फाइनलमा १५ ओभरमा भारतले २०३ रन बनाइसकेको थियो। त्यसपछि जिमी नीशमले १६औँ ओभरमा सञ्जु सामसन (८९), ईशान किशन (५२) र सूर्यकुमार यादव (०) लाई आउट गरेपछि खेलको दिशा बदलिएको जस्तो देखिएको थियो।

त्यसपछि २४ बलमा मात्र २८ रन बनेका कारण भारत २५० रन पुग्न पनि कठिन देखिन्थ्यो।

तर शिवम दुबेले अन्तिम ओभरमा जिमी नीशमविरुद्ध २ छक्का र ३ चौका प्रहार गरे। उनले ८ बलमा २६ रन बनाएर भारतलाई २५५ रनको विशाल स्कोरमा पुर्‍याए।

यसअघि सेमिफाइनलमा इङ्ल्यान्ड विरुद्ध पनि उनले २५ बलमा ४३ रन बनाएका थिए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु