सुदूरपश्चिमका मन्त्रालयमा लेखा सुरक्षित, पारिश्रमिक भुक्तानी सुरु

छिनोफानो   बिहिबार ०९, असोज २०८२ १०:१८

धनगढी — भदौ २४ गतेको प्रदर्शनका क्रममा धनगढीस्थित सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय तथा कार्यालयमा तोडफोड र आगजनी भए पनि सम्बन्धित मन्त्रालयका लेखा शाखाहरू सुरक्षित छन्। प्रदेश मन्त्रालयमा कार्यरत लेखा अधिकृतका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लेखा शाखामा सामान्य क्षति मात्र भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लेखा अधिकृत भोजराज जोशीका अनुसार लेखा शाखामा कम्प्युटर तोडफोडबाहेक सबै स्रेस्ता सुरक्षित छन्। यी सबै लेखा शाखा तेस्रो तलामा रहेकाले आगलागीबाट जोगिएका हुन्। ‘आन्दोलनकारीले तलबाट तोडफोड र आगजनी गर्दै माथि गएका थिए,’ जोशीले भने, ‘भुइँतलाबाट आगो लगाइएको हुँदा तेस्रो तलासम्म फैलिन पाएन।’

तर लेखा शाखामा पनि प्रदर्शनकारीले कम्प्युटर, फर्निचर र झ्याल–ढोका तोडफोड गरेका छन्। सामाजिक विकास मन्त्रालयका लेखा अधिकृत यज्ञराज लेखकका अनुसार मन्त्रालयको भुइँतलामा आगजनी भएको थियो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारीले लेखाका कागजात सुरक्षित राख्न भ्याएका थिए। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा बाहिरबाट सामान्य तोडफोड भए पनि आगजनी नभएकाले कागजात जोगिएका छन्।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत हरिप्रसाद पनेरुका अनुसार मन्त्रालयको लेखा शाखाको कम्प्युटर र दराज तोडफोड भए पनि स्रेस्ता सुरक्षित छन्।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु