काठमाण्डौ – जेनजी आन्दोलनबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठानले कर्मचारीलाई तलब खुवाउनका लागि सस्तो ब्याजमा ऋण पाउने भएका छन् । प्रभावित संस्था तथा प्रतिष्ठानमा कार्यरत कर्मचारीको रोजगारी सुनिश्चित गर्न राष्ट्र बैंकले रोजगारदाता संस्था र प्रतिष्ठानलाई सस्तो ऋण दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
यस्तो कर्जा माग गरेमा बैंकले कर्जा प्रवाह गर्दा आधार दरमा बढीमा ०.५० प्रतिशत विन्दु मात्र प्रिमियम थप गरी कर्जा प्रदान गर्नु पर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । यस प्रकारको कर्जा एक वर्ष वा संस्था सञ्चालनमा आउन लाग्ने अवधिमध्ये जुन कम हुन्छ, त्यस अवधिसम्मका लागि मात्र प्रवाह गर्नु पर्नेछ । यसरी प्रवाह भएको कर्जामा लाग्ने ब्याजदरमा ६ महिनासम्मका लागि दुई प्रतिशत ब्याजदर नेपाल सरकारबाट अनुदान प्राप्त हुनेछ ।
अनुदान नेपाल सरकारबाट प्राप्त भएपछि ऋणीलाई उपलब्ध गराउनु पर्नेछ । यस्तो कर्जाका लागि सम्बन्धित रोजगारदाता संस्थाले आउँदो पुस मसान्तभित्रमा निवेदन दिनुपर्ने व्यवस्था राष्ट बैंकले गरेको छ । यस्तै प्रदर्शनको क्रममा क्षति भएका गाडी प्रतिस्थापनका लागि ऋण लिनुपरे गाडीको मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । अहिले बैंक तथा वित्तीय संस्थाले सगाडी खरिद गर्न कर्जा प्रवाह गर्दा अधिकतम ६० प्रतिशतसम्म मात्र ऋण दिन पाइने व्यवस्था छ ।
प्रतिकृया दिनुहोस