बैतडी।बैतडीको प्रसिद्ध शक्तिपीठ निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा शुरु भएको छ।दशरथचन्द नगरपालिका-२ देहीमाण्डौंस्थित यो मन्दिरमा आजदेखि सुरु भएको जात्रा भोलि महाष्टमीका दिन बलिपूर्वक सम्पन्न हुने छ।
घटस्थापनादेखि निरन्तर पूजाआराधना हुँदै आएको मन्दिरमा यस वर्ष नवरात्रको आठौं दिन महासप्तमी परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। त्यसअनुसार आज महासप्तमी र भोलि महाष्टमी विशेष पूजा र बलिसहित मनाइँदैछ।
परम्पराअनुसार महासप्तमीका दिन राँगा बाँध्ने र महाष्टमीका दिन बलि दिने प्रचलन रहिआएको छ।यस अवसरमा हरेक वर्ष झैं यसपटक पनि तीन-चार सय राँगाको बलि हुने भण्डारे चक्रबहादुर बोहराले बताए।
जात्रामा हजारौं भक्तजन सहभागी भइरहेका छन्।नेपालका विभिन्न स्थानसँगै भारतको सीमावर्ती क्षेत्रबाट समेत भक्तजन दर्शनका लागि आएका छन्।भीड व्यवस्थापनका लागि मेला समितिले स्वयंसेवक खटाएको छ भने स्थानीय प्रशासनले सुरक्षा व्यवस्थामा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले जानकारी दिए।
निङ्गलाशैनी भगवती मन्दिरमा वर्षको चार पटक जात्रा लाग्ने गर्छ। असोजको महाष्टमी र चैत्राष्टमीमा बलिसहित र मंसिर शुक्ल पूर्णिमा (धान्य पूर्णिमा) तथा भाद्र शुक्ल चतुर्दशी ९अनन्त चतुर्दशी० मा बलिविनै जात्रा मनाइने परम्परा रहेको धार्मिक सेवा समितिले जनाएको छ।
प्रतिकृया दिनुहोस