काठमाडौं।प्रधानमन्त्री सुशीला कार्कीले आगामी दिनमा देखिन सक्ने प्राकृतिक विपदको जोखिम न्यूनीकरणका लागि आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राखी सम्भावित जोखिमबारे सचेत रहन अनुरोध गरेको हो।
जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका अधिकांश भागमा भारी वर्षा हुने अनुमान गरेको छ।
यस अवधिमा खोलानाला तथा नदीमा पानीको बहाव बढ्ने, जलसतह उक्लिने जस्ता जोखिम बढ्न सक्ने भन्दै विभागले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
विपद पूर्वतयारी, प्रतिकार्य र उद्धारका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद व्यवस्थापन समिति, जिल्ला विपद व्यवस्थापन समिति तथा सुरक्षाकर्मीलाई तयारी अवस्थामा रहन प्रधानमन्त्री कार्कीले निर्देशन दिनुभएको छ।
विपद उत्पन्न भएमा तत्काल उद्धारदेखि राहत वितरणसम्मका गतिविधि प्रभावकारी ढंगले सञ्चालन गर्न समेत उहाँले सबै निकायलाई आग्रह गर्नुभएको छ।
प्रतिकृया दिनुहोस