धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आगजनी र तोडफोड हुँदा साढे नौ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आन्दोलनकारीले आगजनी र तोडफोड गरेका थिए । आगजनीबाट आठ करोड ४१ लाख ८६ हजार, तोडफोडबाट ७६ लाख ८० हजारको क्षति भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । यस्तै, फेला नपरेको वा लुटपाटबाट ५५ लाख ८४ हजार रुपियाँ बराबरको क्षति भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
छ करोड ७५ लाख रुपियाँ बराबरका सवारी साधन जलेर नष्ट भएको मुख्यमन्त्री कार्यालयका प्रवक्ता एवं उपसचिव नवराज ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार सात जिप र १३ मोटरसाइकल जलाइएको थियो । त्यसै गरी, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका विभिन्न सामग्री पनि जलाइएको थियो ।
कार्यालयको तीनवटै भवनमा आगजनी भई झ्याल, ढोका, कार्पेट, मार्बल, फल सिलिङ पार्केटिङ लगायतका सामान जलेर नष्ट भएको जनाइएको छ । कार्यालय परिसरमा रहेको प्रहरी पोस्ट र प्रहरी क्वाटरमा आगजनी गरिएको थियो । सम्पत्ति विवरण र कार्य सम्पादन मूल्याङ्कन फाराम तथा अन्य सरकारी कागजात अधिकांश जलेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा रहेको प्रमुख सचिवकोे सरकारी निवासमा तोडफोड, जिन्सी शाखामा मौज्दात रहेका र अन्य महाशाखामा रहेका अधिकांश मसलन्दका सामान जलेर नष्ट भएको प्रवक्ता ओझाले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८१/८२ जिन्सी निरीक्षणमा लिलाम, मर्मत तथा मिनाहामा औँल्याइएका अधिकांश सरसामान जलेर नष्ट भएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस