काठमाडौँ।आज कोजाग्रत पूर्णिमा, अर्थात् दशैंलाई बिदा गरी धनधान्यकी देवी महालक्ष्मीको आराधना गर्दै मनाइँदै छ।
यस अवसरमा आज रातभर जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ। आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष, अर्थात् बडादशैं, औपचारिक रूपमा समाप्त हुन्छ।
धार्मिक विश्वास अनुसार आजको रात पृथ्वी भ्रमणमा निस्कने महालक्ष्मीले जाग्राम बसेका भक्तजनका घरमा प्रवेश गरी ऐश्वर्य र सम्पन्नता प्रदान गर्छिन्।
लक्ष्मीपूजाको १५ दिनअघि नै गरिने यो आराधनाले कोजाग्रत पूर्णिमालाई विशेष महत्व दिएको छ। यस पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ।
आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पूर्णिमासम्म चल्ने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, साँझ अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसादस्वरूप टीका र जमरा लगाउनु शास्त्रसम्मत मानिन्छ।
बिहानै दशैंघरका फूलप्रसाद र जमराको अवशेष नदी, तलाउ वा तीर्थस्थलमा विसर्जन गर्ने प्रचलन छ। भोलिदेखि कात्तिक स्नान सुरु हुने र आकाशदीप दान गर्ने चलन पनि आजैदेखि प्रारम्भ हुने गर्छ।
यसरी कोजाग्रत पूर्णिमासँगै दशैंको बिदा र तिहारको तयारीको सुरुवात हुने परम्परा रहिआएको छ।
प्रतिकृया दिनुहोस