अत्तरिया-गेटा सडकमा सडक बत्ती सञ्चालन

छिनोफानो   बुधबार २२, असोज २०८२ ११:१८

धनगढी।कैलालीको धनगढी-अत्तरिया ६ लेन सडकखण्ड अन्तर्गत गोदावरी नगर क्षेत्रभित्र जडान गरिएका स्ट्रिट लाइट (सडक बत्ती) सञ्चालनमा आएका छन्।नगरपालिकाको अत्तरिया चौराहादेखि गेटा आर.पी.फ्लोर मिलसम्म करिब ५.७ किलोमिटर क्षेत्रमा बत्तीहरू जडान गरिएका हुन् ।

गोदावरी नगरपालिकाले सडक बत्ती जडान गर्ने निर्णय २०७९ फागुन १९ गतेको कार्यपालिका बैठकबाट गरेको थियो।सो निर्णयका आधारमा नगरले नेपाल विद्युत प्राधिकरणको ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागअन्तर्गतको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनासँग लागत साझेदारी गरेर कार्य अघि बढाएको हो।

आयोजनाले लागत साझेदारीमा ठेक्का आह्वान गरी निर्माण कम्पनी सूर्योदय ऊर्जा प्रालिलाई जिम्मा दिएको थियो।कम्पनीका इन्जिनियर रविन महतोका अनुसार,“जडानको काम समयमै सकिएको थियो, तर मिटर ल्याउनमा केही ढिलाइ र जेनजी आन्दोलनका कारण सञ्चालनमा ढिलो भयो,”उनले बताए।

महतोका अनुसार अहिले बत्तीहरू सञ्चालनमा आइसकेका छन् र अहिले परीक्षण (टेष्टिङ)अवधिमा रहेका छन्।खराब लाइट मर्मत गर्ने लगायतका काम भइरहेको छ,परीक्षण सकिएपछि आयोजना नगरपालिकालाई हस्तान्तरण गरिनेछ,”उनले थपे ।

अत्तरिया चौराहादेखि गेटा आर.पी. फ्लोर मिलसम्म १८३ वटा पोलहरू राखिएका छन्।ती पोलहरूमा १२० वाट क्षमताका फिलिप्स कम्पनीका स्मार्ट बल्बहरू जडान गरिएको छ।अत्तरिया बजारदेखि मनेहरा पुलसम्म ९६ पोल,मनेहरा पुलदेखि गेटा ट्राफिक पोस्टसम्म २३ पोल र बाँकी ६४ पोल नगर क्षेत्रसम्म राखिएको छ ।

यी स्मार्ट बल्बहरू सफ्टवेयरमार्फत आवश्यकता अनुसार प्रकाश घटबढ गर्न सकिने प्रणालीयुक्त छन्। “विद्युत खपत घटाउन यी बल्बहरू उज्यालो बढी चाहिएको समयमा बढी र कम चाहिएको समयमा कम बाल्न सकिन्छ,”इन्जिनियर महतोले भने।कम्पनीले पाँच वर्षसम्म बिग्रिएका बल्ब मर्मतको जिम्मेवारी लिने पनि जनाएको छ।

परियोजनाको अनुमानित लागत ३ करोड २ लाख ४० हजार ६८३ रुपैयाँ रहेको छ।जसमा गोदावरी नगरपालिकाको ६५ प्रतिशत ९१ करोड ९६ लाख ५६ हजार ४०० रुपैयाँ० र राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको ३५ प्रतिशत लगानी रहेको छ । बत्ती सञ्चालनपछि विद्युत् बिल भने नगरपालिकाले नै तिर्नेछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु