विपिनलाई भेट्ने बाटो खोलिदियो : बुवा महानन्द

छिनोफानो   बिहिबार २३, असोज २०८२ ११:३२

काठमाडौँ — दुई वर्षदेखि हमासको बन्धकमा रहेका विपिन जोशीका बुवा महानन्दले इजरायल र हमासबीचको युद्धविरामले विपिनसँग भेट गर्ने पाउने बाटो खोलिदिएको बताएका छन् । ‘हामीसँग विपिनलाई थप पर्खेर बस्न सक्ने शक्ति थिएन । यो युद्धविरामले शान्ति ल्याउनेछ । विपिन सकुशल छुट्नेछ भन्ने आशा बढेको छ,’ उनले कान्तिपुरसँग भने, ‘हामी धेरै आशावादी छौं । हामीबीचको दूरी छोटिँदै गइरहेको छ ।’ इजिप्टमा इजरायल र हमासबीच भएको सहमतिमा अमेरिकी शान्ति योजनाको पहिलो चरणमा सबै बन्धकलाई ७२ घण्टापछि मुक्त गर्ने उल्लेख छ । सहमतिपछि ट्रम्पले बिहीबार बिहान आफ्नो ‘ट्रुथ सोसल’ मा लेखेका छन्, ‘यसको अर्थ अब सबै बन्दीहरू चाँडै मुक्त हुनेछन् । इजरायलले आफ्नो सेना सहमतिको रेखासम्म फिर्ता गर्नेछ,’

शान्ति योजना अनुसार सोमबारदेखि बन्धकलाई मुक्त गर्न सुरु गर्ने बताइएको छ । त्यसको बदलामा इजरायलले गाजा पट्टीमा नियन्त्रणमा राखेको भू–भाग क्रमश छोड्दै जाने र प्यालेस्टिनी कैदीलाई रिहाई गर्नेछ । इजरायलका अनुसार हमासको नियन्त्रणमा रहेका २५१ जनामध्ये विपिनसहित ४८ जना बन्धक बाँकी छन् । त्यसमा २० जना जीवित रहेको अनुमान गरिएको छ ।

विपिनको परिवारले एक वर्ष अगाडि हमासले कैद गरेको भिडियो प्राप्त गरेको थियो । जुन भिडियो बुधबार राति सार्वजनिक गरिएको थियो । ‘म, बुवा र आमासँगै बसेर यो भिडियो हेरेका थियौं । दाईलाई कतै चोट लागेको थिएन । भिडियो हेरेपछि हामी कसैले आफूलाई रोक्न सकेनौं,’ बुधबार राति भिडियो सार्वजनिक गर्दै बहिनी पुष्पाले भनिन्, ‘मेरो दाई जीवित नै छ भन्ने यो एउटा चिनो हो । यो देखेपछि हामी आशावादी भएर बसेका छौं । र, दाईलाई बन्धकबाट छुटाउन पहल गरिरहेका छौं ।’

हमासको बन्धकमा रहेयता विपिनको यो दोस्रो भिडियो हो । यसअघि विपिनलाई अक्टुबर ७ मा हमासले बन्धक बनाएर एउटा अस्पतालभित्र लैजाँदै गरेको भिडियो सार्वजनिक गरिएको थियो । विपिन ७ अक्टोवर २०२३ देखि हमासको कब्जामा छ । लन एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायलको कृषि काममा पुगेका विपिनलाई एउटा कृषि फार्मबाट अपहरण गरिएको थियो । त्यतिखेर उनीसँगै रहेका १० जना नेपाली विद्यार्थी हमासद्वारा मारिएका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु