दशैँपछि काठमाण्डौ उपत्यका भित्रिनेको सङ्ख्या बढ्दै

छिनोफानो   शुक्रबार २४, असोज २०८२ ११:३५

काठमाण्डौ – दशैँ सकिएसँगै पछिल्ला दिनमा देशका विभिन्न ठाउँबाट काठमाण्डौ उपत्यका भित्रिने गाडी र यात्रुहरूको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको छ । दशैँ मनाउन आ–आफ्ना गाउँघर गएका नागरिकहरु काठमाण्डौ उपत्यका फर्किन थालेपछि प्रमुख नाका र सडकमा यात्रु तथा गाडीको सङ्ख्या बढ्दै गएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दशैँको भोलिपल्ट असोज १७ गतेदेखि अस्ति बेलुकीसम्म काठमाण्डौ उपत्यकामा एक लाख ५५ हजार ६ सय ९७ जना भित्रिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । राजमार्गहरूमा गाडीको सङ्ख्या पनि बाक्लिँदै गएको छ ।

असोज १७ गते ११ हजार नौ सय ५५ जना, १८ गते दुई हजार ६ सय ४८ जना, १९ गते १६ हजार ६ सय ९४ जना, २० गते ४० हजार आठ सय ७७ जना, २१ गते ६७ हजार ६ सय ९२ जना, २२ गते १५ हजार आठ सय ३१ जना गरी कूल एक लाख ५५ हजार ६ सय ९७ जना काठमाण्डौ उपत्यका भित्रिएका प्रवक्ता सुवेदीले बताउनुभयो । उहाँका अनुसार दशैँका लागि भन्दै काठमाण्डौ उपत्यकाबाट आठ लाख ६८ हजार ७२ जना बाहिरिएका थिए ।

हिजोआज काठमाण्डौ  प्रवेश गर्ने नाकाहरू विशेषगरी नागढुङ्गा, फर्पिङ, साँगाचोक, बलम्बु, जगातिलगायत ठाउँमा दैनिक हजारौँको सङ्ख्यामा यात्रु तथा सयौँको सङ्ख्यामा गाडीहरु उपत्यका भित्रिने र बाहिरिने गरेका ट्राफिक प्रहरीले जनाएको छ ।

दशैँ मनाएर फर्किनेमध्ये धेरैजसो रोजगारी, अध्ययन वा व्यापारका सिलसिलामा राजधानी फर्किने रहेका प्रहरीले जनाएको छ । दशैँको बिदापछि अहिले काठमाण्डौको जनजीवन फेरि सामान्य बन्दै गएको छ  । मन्त्रालय, कार्यालय, पसल तथा अन्य सङ्घसंस्था क्रमशः सञ्चालनमा आएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु