डडेल्धुराका ऐरमाथि चक्कु प्रहार घटनामा संलग्न रहेको आरोपमा ११ जना पक्राउ

छिनोफानो   मङ्गलबार २८, असोज २०८२ ११:५६

धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ स्थित शुभम होटलमा डडेल्धुराका गौरव ऐरमाथि चक्कु प्रहार गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले भारततर्फ भाग्दै गरेका उनीहरूलाई गएराति सीमा नजिकैबाट नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार पक्राउ पर्नेहरु धनगढी उपमहानगरपालिका–२ का सन्नी नेपाली र उनका समूहमा आवद्ध रहेकाहरु छन् । प्रहरी स्रोतका अनुसार पक्राउ परेका नेपाली ‘कोब्रा सरकार’ ग्याङमा आवद्ध छन् । सोही समूहका सदस्यहरूले गत वर्ष फागुनमा अत्तरियामा विद्युत प्राधिकरणका कर्मचारीमाथि समेत दिनदहाडै खुकुरी प्रहार गरेका थिए । 

पक्राउ परेकामाथि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । अहिले उनीहरूविरुद्ध जाहेरी दर्ता हुन बाँकी रहेको पनि प्रहरीले जनाएको छ । 

डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ का ३२ वर्षीय गौरव ऐरमाथि आइतबार राति शुभम होटलमा धारिलो हतियार प्रहार गरिएको थियो । घाइते भएका ऐरलाई उपचारका लागि भारत लगिएको र हाल भारतमै उनको उपचार जारी रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु