कैलाली।निकै रस्साकस्सीपछि तत्कालीन प्रतिनिधिसभाबाट पारित भएको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ कार्यान्वयनमा गएको छ।
दुवै सदनबाट पारित भई राष्ट्रपति रामचन्द्र पौडेलले असार ४ गते प्रमाणीकरण गर्नुभएको उक्त ऐन साउन २ गतेदेखि लागू भएको थियो। ऐनले ९० दिनभित्र विश्वविद्यालय सभाको बैठक बस्नुपर्ने प्रावधान गरेकोमा मंगलबार पहिलो बैठक बसेपछि ऐन कार्यान्वयनको ढोका खुलेको हो।
मंगलबार बसेको सभाको बैठकले उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ। समितिको संयोजकमा प्रा. डा. जयराज अवस्थी, सदस्यहरूमा प्रा. डा. दीपक महरा र प्रा.डा.भारती जोशी रहेका छन्।
ऐन अनुसार सिफारिस समितिले ६० दिनभित्र उपकुलपति र रजिस्ट्रारका लागि सिफारिस गर्नुपर्ने र सभाले त्यसपछि ३० दिनभित्र नियुक्ति गर्नुपर्ने प्रावधान छ।त्यसअनुसार अब ढिलोमा ९० दिनभित्र विश्वविद्यालयले स्थायी उपकुलपति र रजिस्ट्रार पाउने अपेक्षा गरिएको छ।
मंगलबारको बैठक सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकले सभाका ७ जना सदस्य पनि चयन गरेको छ।त्यसअनुसार सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त, साथै प्रा.डा.अम्मराज जोशी, डा.लवदेव अवस्थी, प्रा.डा.संगीता राज भण्डारी, डा. डम्बरबहादुर पाल र सह-प्रा.अनुराधा रोकाया सभामा मनोनीत भएका छन्।
बैठकमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट लगायतको उपस्थिति थियो।हाल विश्वविद्यालयभित्र गेटा अस्पताल सञ्चालनमा भए पनि यसलाई अझै विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा घोषणा गरिएको छैन।
विश्वविद्यालयको स्वरूप पूरै स्पष्ट बनाउन प्राज्ञिक परिषद्, कार्यकारी परिषद्,अनुसन्धान केन्द्र, स्कुल, शिक्षण संस्था र शिक्षण अस्पताल गठनको प्रक्रिया बाँकी रहेको छ।
प्रतिकृया दिनुहोस