काठमाण्डौ।निर्वाचन आयोगले आफ्नो वेबसाइट तथा मतदाता नामावलीमा अनधिकृत व्यक्तिको पहुँच नरहेको स्पष्ट पारेको छ।आयोगले विज्ञप्ति नै निकालेर यसबारे जानकारी गराएको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको विज्ञप्तिमा आयोगको वेबसाइट तथा मतदाता नामावलीसम्बन्धी सूचनाहरूमा कुनै पनि अनधिकृत व्यक्तिको पहुँच नरहेको भनिएको छ।
आयोगले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा राखिएका दावीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ कानुन बमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिवद्ध रहेको विज्ञप्तिमा भनिएको छ।
निरन्तर अनुगमन, सुरक्षा जोखिम विश्लेषण गरी सूचना प्रणाली सुरक्षाका लागि अपनाउनुपर्ने सबै उपायहरू अवलम्बन गर्ने कार्य गरिरहेको आयोगको भनाइ छ।
यस सम्बन्धमा आएका गलत सूचनामा विश्वास नगर्न पनि आयोगले सबैलाई अनुरोध गरेको छ।
प्रतिकृया दिनुहोस