कैलाली। सुदूरपश्चिम प्रदेशमा यस वर्ष धानको उत्पादनमा वृद्धि भएको छ। कृषि विकास निर्देशनालय सुदूरपश्चिमका अनुसार प्रदेशभर ६ लाख ८७ हजार ८७७ मेट्रिकटन धान उत्पादन भएको छ, जुन गत वर्षको ६ लाख ३६ हजार २९६ मेट्रिकटनभन्दा बढी हो।
निर्देशनालयका सूचना अधिकारी केशवराज पाण्डेयका अनुसार उत्पादन वृद्धि खेती गर्ने तरिका सुधार र उन्नत जातको बीउ प्रयोगका कारण भएको हो। “उन्नत जातको बीउले १०–१५ प्रतिशतसम्म उत्पादन बढाउँछ,” पाण्डेयले बताए।
कञ्चनपुर र कैलाली जिल्लामा उत्पादन सबैभन्दा बढी रहेको छ। कञ्चनपुरमा हरेक हेक्टरमा ४.४ र कैलालीमा ४.५ मेट्रिकटन उत्पादन भएको छ। कृषि ज्ञान केन्द्र कञ्चनपुरका धर्मबहादुर साउँदले सिँचाइ सुविधा र अनुदानमा उपलब्ध गराइने बीउबिजनले उत्पादन वृद्धि गर्न मद्दत गरेको बताए।
साना सिँचाइ तथा महाकाली सिँचाइ आयोजना (पहिलो र दोस्रो चरण) मार्फत कञ्चनपुरमा ५१ हजार २५० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध छ। यी जिल्लालाई प्रदेशको अन्न भण्डारका रूपमा चिनिन्छ र यहाँको उत्पादनले अन्य पहाडी जिल्लामा खाद्य आपूर्ति गर्ने गर्छ।
प्रतिकृया दिनुहोस