प्रतिनिधिसभा चुनाव : मतदाता नामावली दर्ता आज अन्तिम दिन

छिनोफानो   शुक्रबार ०६, मङि्सर २०८२ १०:४६

काठमाण्डौ।आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने आज अन्तिम दिन हो।यसअघि कात्तिक मसान्तसम्म दर्ता गर्ने समय निर्धारण गरिएको भए पनि निर्वाचन आयोगले म्याद थप गर्दै आजसम्म नाम दर्ता गर्न मिल्ने व्यवस्था गरेको हो।

राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले ऑनलाइनमार्फत नै मतदाता दर्ता फाराम भर्न सक्ने व्यवस्था आयोगले गरेको छ।

जैविक तथ्याङ्क (बायोमेट्रिक) राष्ट्रिय परिचयपत्रसँग लिंक भएपछि दर्ता प्रक्रिया पूरा हुन्छ।आयोगका अनुसार हालसम्म सात लाखभन्दा बढी नयाँ मतदाता सूचीकृत भएका छन्।

यसैबीच आयोगले मतदाता नामावलीमा भएका त्रुटि सच्याउन मंसिर २१ देखि २७ गतेसम्म समय तोकेको छ। सो अवधिमा नामावलीमा रहेका त्रुटि सच्याउन, झुटा विवरण दिई नाम समावेश गरेकाहरुविरुद्ध उजुरी दिन, एकभन्दा बढी स्थानमा नाम दोहोरिएको भए एक स्थानमा कायम गर्न निवेदन दिन तथा ज्यान गएका वा नागरिकता त्याग गरेका व्यक्तिको नाम हटाउन निवेदन दिन सकिनेछ।

निवेदन तथा उजुरी आयोगको वेबसाइट, प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमार्फत दिन सकिने व्यवस्था मिलाइएको छ।

प्राप्त गुनासा तथा उजुरीको छानबिनपछि अन्तिम मतदाता नामावली आगामी पुस १५ गते सम्बन्धित निर्वाचन कार्यालय तथा वडा कार्यालयमार्फत प्रकाशित गरिने आयोगले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु