डडेलधुरा — डडेलधुराका सातवटै स्थानीय तहमा गाई–भैंसीमा देखिने खोरेत रोग नियन्त्रणका लागि खोप अभियान सञ्चालन हुने भएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र डडेलधुराका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक देवराज भट्टका अनुसार शुक्रबारबाट खोप अभियान सञ्चालन हुँदैछ । दुईखुर भएका गाई–भैंसी, भेडा–बाख्रामा देखिने खोरेत रोगले ठूलो आर्थिक क्षति पुर्याउने तथा दूध उत्पादनमा कमी ल्याउने भएकाले अभियान तीव्र बनाउन लागिएको केन्द्रले जनाएको छ ।
खोप कार्यान्वयनका लागि सबै कृषक तथा सरोकारवाला निकायलाई सहजीकरण गर्न आग्रह गरिएको छ । किसानहरूले पशु खोपकर्तासँग समन्वय गरी निःशुल्क रूपमा आफ्ना पशुमा खोप लगाउन सक्नेछन् । यसका लागि डडेलधुरामा करिब ६० हजार मात्र खोप उपलब्ध गराइएको जनाएको छ ।
प्रदेश सरकारअन्तर्गत रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय डोटी र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र डडेलधुराको समन्वयमा खोप अभियान सञ्चालन हुन लागेको हो ।
प्रतिकृया दिनुहोस