काठमाण्डौ – बजारका गोलभेँडा, मुला, साग, च्याउलगायतको भाउ अत्यधिक बढेको छ । काठमाण्डौमा रहेको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिको मूल्य सूचीअनुसार गोलभेँडाको भाउ एक वर्षअघिको तुलनामा ४० देखि ५७ प्रतिशतसम्म बढेको छ । आज थोक बजारमा सानो भारतीय गोलभेँडा किलोको एक सय १० रुपैयाँमा कारोवार भइरहेको छ ।
गोलभेँडाको भाउ ठिक एक वर्षअघि किलोको ७० रुपैयाँ थियो । यसमा ५७ प्रतिशतभन्दा धेरैको वृद्धि भएको हो । यस्तै अघिल्लो वर्ष किलोको ९५ रुपैयाँ रहेको भारतीय ठूलो गोलभेँडा आज एक सय ३० रुपैयाँमा कारोवार भइरहेको छ । सानो स्थानीय गोलभेँडा किलोको ७३ बाट एक सय तीन र टनेलको सानो गोलभेँडा ८३ बाट बढेर एक सय १० रुपैयाँ पुगेको छ ।
सबै प्रकारका गोलभेँडाजस्तै सागको भाउ पनि अत्यधिक बढेको छ । पालुँगोको सागमा एक सय तीन प्रतिशत भाउ बढेको छ । एक वर्षअघि किलोको ९५ रुपैयाँ पर्ने पालुँगोको साग आज एक सय ९३ रुपैयाँ पुगेको छ । रायो साग किलोको ३५ बाट बढेर ६० रुपैयाँ पुगेको छ । तोरीको साग ५५ बाट ६५ र मेथीको साग किलोको एक सय ४० बाट एक सय ९५ रुपैयाँ पुगेको छ । जिरीको साग किलोको ९५ बाट ५ सय ५० पुगेको छ । जसमा चार सय ७८ प्रतिशत भन्दा बढीको वृद्धि हो ।
च्याउको भाउ पनि उसैगरी बढेको छ । कन्ने च्याउ किलोको एक सय ७६ बाट बढेर दुई सय १५ रुपैयाँ तथा डल्ले च्याउ दुई सय ४३ बाट तीन सय ६५ रुपैयाँ पुगेको छ । मुला, सिमीलगायतका तरकारीको भाउ पनि बढेको छ । यस वर्ष आलु र सुकेको प्याजको भाउ भने केही घटेको छ । कालिमाटीमा थोक बजारको मूल्य हो । यहाँबाट लगेर बिक्री गर्ने खुद्रा व्यापारीले बिक्री गर्ने मूल्य अझै महँगो हुने भएकोले उपभोक्ताको भान्छामा तरकारी निकै महँगो भइरहेको छ ।
व्यापारीहरु उत्पादन कम र माग बढी भएकोले भाउ बढेको बताउँछन् । तर उत्पादन गर्ने किसानबाट उपभोक्तासम्म पुग्दा भाउ कैयौं गुणा बढेको कारण बिचौलियाहरुले अत्यधिक नाफा लिइरहेका तरकारी उत्पादन गर्ने किसानहरुको गुनासो छ ।
प्रतिकृया दिनुहोस