उड्दाउड्दै पाइलटको ड्युटी सकियो, रुकुमका यात्रु नेपालगञ्ज पुगे

छिनोफानो   मङ्गलबार ०७, मङि्सर २०७८ १२:०२

काठमाडौं । नेपाल एयरलाइन्सको ट्विन अटर विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुकुमको चौरजहारी उडान भर्ने अनुमति पाइसकेको थियो । 

दिउँसो ३ बजे उड्नुपूर्व यात्रु विमानमा बसिसकेका थिए । 

विमानका पाइलट ककपिट छिरेपछि एयरहोस्टेजको मधुर आवाज निस्कियो– अब हामी गन्तव्यतर्फ उड्दैछौं । कृपया सुरक्षाका लागि सबैले बेल्ट बाँधिदिनुहोला ।

ट्विन अटर विमानका आठमध्ये एक यात्रुले आफन्तलाई फोन गरे– विमानस्थलबाट प्लेन उड्नै लाग्यो । चौरजहारी आउँदै गर्नुहोला ।’ 

प्लेनले निर्धारित समयमा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाड्यो । अनि आकाशमा एक फन्का मारेर गन्तव्य सोझ्यायो । 

यात्रुलाई लागेको थियो– प्लेन केही समयमा नै चौरजहारी विमानस्थलमा अवतरण होला र आफन्त भेटिएलान् । तर त्यसो भएन । बीच बाटोमै नेपालगञ्ज विमानस्थलमा प्लेन अवतरण भयो ।  

धेरैलाई लाग्न सक्छ– जहाजमा कुनै प्राविधिक समस्या आएकाले पाइलटले नेपालगञ्जमा आकस्मिक अवतरण गरे होलान् । तर प्राविधिक समस्याले नभई पाइलटको सनकका कारण यस्तो अनौठो घटना भएको हो । कारण रोचक छ– पाइलटको ड्युटी सकिनु । 

पाइलट पेम्बा शेर्पाको ड्युटी सोमबार बिहान ५ः३० मा सुरु भएको थियो । उनको नियमित ड्युटी ४ बजेसम्म हो । उक्त समयमा नेपालगञ्जको आकाशमाथि पुगेको थियो । त्यसैबेला उनले ड्युटी सकिएको भन्दै जहाज त्यहीँको विमानस्थलमा ल्यान्ड गराए  । 

‘कति छिट्टै चौरजहारी आइपुगिएछ भन्ने ठानेको त ड्युटी सकियो भनेर नेपालगञ्जमा झारिएको रहेछ,’ एक यात्रुले गुनासो गरे, ‘यो गैरजिम्मेवारीको पराकाष्ठा हो । यसैगरी, बिरामीको अपरेसन गरेका चिकित्सकले काम छाडे के होला ?’ 

शेर्पा यती समूहबाट चार वर्षअघि नेपाल एयरलाइन्समा अनुबन्ध भएका पाइलट हुन् । 

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफ्ना पाइलटले ड्युटी सकिएको भन्दै चौरजहारी जानुपर्ने जहाज नेपालगञ्जमा सोमबार अवतरण गरेको स्वीकारे । उनी भन्छन्, ‘चौरजहारी जानुपर्ने विमान ड्युटी सकिएको भन्दै पाइलटले नेपालगञ्ज अवतरण गरेको साँचो हो । यसबारे बुझ्दै छु ।’ 

पाइलटले यात्रुलाई गन्तव्यमा नपु-याएपछि उनीहरूलाई नेपालगञ्जकै होटलमा बस्ने व्यवस्था गरिएको अध्यक्ष अधिकारीले नेपालवाचलाई बताए । 

निगम स्रोतका अुनसार, पाइलटका सनकका कारण अलपत्र यात्रुलाई मंगलबार बिहान नेपालगञ्जबाट रुकुम पु-याइएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु